खुर्कोट (सिन्धुली) : राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुनकोसी नदीमा बाँध निर्माण कार्य सुस्त बनेको छ । सम्झौताअनुसारको समयावधिको करिब ६० प्रतिशत सकिँदा पनि हालसम्म भौतिक प्रगति करिब ११ प्रतिशत मात्र भएको आयोजनाले जनाएको छ ।
निर्माण व्यवसायी पटेल–रमण जेभीले २०७९ साल पुस महिनामा (सन् २०२३ जनवरी १) सम्झौता गरेर सुनकोसी नदीमा बाँध निर्माण सुरु गरेको थियो । सम्झौताअनुसार चार वर्ष सात महिनाभित्र काम सम्पन्न गर्ने सहमति भए पनि निर्माण गति अत्यन्तै सुस्त रहेको आयोजनाका सूचना अधिकारी तथा वरिष्ठ डिभिजन इन्जिनियर असोक गौतमले बताए ।
उनका अनुसार, “अबको समयमा प्रगति ४० प्रतिशत माथि पुग्नु पर्ने थियो, तर ठेकेदार कम्पनीले सम्झौता अनुसार काम नगरेकाले मन्त्रालय र विभागमा वैकल्पिक व्यवस्थाको छलफल जारी छ।”
सिन्धुलीको सुनकोसी गाउँपालिका–७ कानढुंग्रीमा करिब ३० मिटर अग्लो र १५८ मिटर लम्बाइको बाँध निर्माण भइरहेको छ । अहिले पहिलो चरणअन्तर्गत रामेछापतर्फ अस्थायी कपर ड्याम निर्माण गरी स्थायी संरचना तयार पार्ने काम भइरहेको छ ।
कामको गति सन्तोषजनक नभएपछि सरकारले ठेकेदार कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रियासमेत अघि बढाएको आयोजनाले जनाएको छ । बाँध निर्माणका लागि सो कम्पनीले १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।
यसअघि टनेल बोरिङ मेसिन (TBM) मार्फत १३.३ किलोमिटर लामो सुरुङमार्ग निर्माण भई २०८१ वैशाखमा “ब्रेकथ्रु” सम्पन्न भइसकेको छ । सो सुरुङ निर्माणको जिम्मा चिनियाँ कम्पनी **चाइना ओभरसिज इन्जिनियरिङ (COVEC)**ले करिब ११ अर्ब रुपैयाँमा लिएको थियो ।
सुनकोसीबाट प्रतिसेकेन्ड ६७ क्युसेक पानी कुसुमटारस्थित मरिण खोलामा ल्याई ६६.२९ मिटर हेडबाट ३१.०७ मेगावाट विद्युत उत्पादन गरिनेछ । सुरुवाती लागत ४६ अर्ब रुपैयाँ रहेको आयोजनाको हालको लागत ४९ अर्ब ४२ करोड रुपैयाँ पुगेको आयोजना प्रमुख कार्कीले बताए ।
सो बहुउद्देश्यीय आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने लक्ष्य रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij