सिरहा : कात्तिक शुक्ल षष्ठीका दिन मनाइने छठपर्व नजिकिँदै गर्दा सिरहासहित मधेस प्रदेशका विभिन्न स्थानका स्थानीय बजारमा किनमेलको चहलपहल बढेको छ।लहान नगरपालिका- ५ स्थित नयाँ बजारको साप्ताहिक हटियामा शुक्रबार बिहानदेखि नै छठ पूजाका सामग्री किन्ने भक्तजनहरूको ठूलो भीड देखिएको छ। बाँस, माटो, फलफूल र हरियो तरकारीसहितका सामान खरिद गर्न आएका श्रद्धालुहरूका कारण बजार दिनभरै खचाखच रहेको छ।
छठपर्वका लागि आवश्यक बाँसका कोनिया, ढाकी, नाङ्लो, माटोका हात्ती, दियोलगायत सामग्रीका साथै केरा, नरिवल, उखु, भोगटे, हरियो बोडी, मुला, अदुवाको बोट र अन्य पूजा सामग्रीको बिक्री व्यापक रूपमा भएको छ। व्यापारीहरूले पनि यो पर्वलाई लक्ष्य गरी पर्याप्त मात्रामा सामग्री भण्डारण गरेका छन्।
सिरहा, धनुषा, सप्तरी, महोत्तरी, सर्लाहीलगायत जिल्लाहरूमा अहिले छठपर्वको रौनक फैलिएको छ। बजारहरू रङ्गीन वस्तु, पूजा सामग्री र पारम्परिक मिठाइहरूले सजिएका छन् भने नदीघाट र पोखरीहरूमा व्रतालुले घाट सफा गर्ने र सजाउने गरिरहेका छन्।
‘छठ हाम्रो संस्कृति र आस्थाको पर्व हो। चार दिन उपवास गरेर सूर्यलाई अर्घ्य दिँदा मन शुद्ध र परिवार सुखी हुने विश्वास छ’, लहान-५ को स्थानीयवासी पार्वती चौधरी।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij