काठमाडौँ : तिहारको मुख्य दिन आज देशभर भाइटीका मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यो पर्व मनाइरहेका छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका यस वर्ष तिथि वृद्धि भएकाले तिहारको छैटौँ दिनमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
शास्त्रीय परम्परा अनुसार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायुको कामना गरेपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई सम्मान र माया प्रकट गर्छन्। दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार साइतमै टीका लगाउन चाहनेका लागि आज बिहान ११ः३९ बजेको अभिजित् मुहूर्त शुभ मानिएको छ। यस वर्ष भाइटीका लगाउने दिदीबहिनी पूर्व र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने बताइएको छ, जसले शुभ चन्द्रयोग प्रदान गर्ने शास्त्रीय विश्वास रहेको छ।
धार्मिक विधिअनुसार आजको दिनमा दियो, कलश, गणेश, अष्ट चिरञ्जीवी, यमराज, यमुना र नवग्रहको पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर पञ्चरङ्गी वा सप्तरङ्गी टीका र फूलमाला लगाइदिन्छन्। शास्त्रअनुसार टीकाका पाँच रंग रातो, सेतो, पहेँलो, हरियो र नीलो हुने उल्लेख छ। टीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, मसला, सेलरोटी लगायतका परिकार अर्पण गर्छन् भने दाजुभाइले दिदीबहिनीलाई सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई माया प्रकट गर्ने चलन छ। यसरी दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्वका रूपमा भाइटीका देशभर हर्षोल्लासका साथ मनाइँदैछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij