Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

गुञ्जिन छाडे पुराना भैली गीत

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर : तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो सांस्कृतिक परम्परालाई विस्थापित गर्दै लगेपछि मौलिक भैली गीत विस्तारै हराउँदै जान थालेका छन् ।

“प्रत्येक गाउँमा घरघरमा पुगेर विशेषगरी काग तिहारदेखि भाइटीकाका दिनसम्म पुरुष र महिलाका छुट्टाछुट्टै समूहले आफ्नै पारामा एक जनाले भैली गीत गाउने र अरुले भट्याउने चलन थियो”, सुदूरपश्चिमको संस्कृतिका जानकार पूर्वशिक्षक शेरबहादुर भण्डारी भने, “भैली गीत गाएर सकेपछि आशीष दिने चलन थियो, घरबेटीले भैली गाउन आएकाहरूलाई चामल, दान दक्षिणा दिएर बिदा गर्ने चलन थियो । अहिले पुराना भैली गीतहरू सुनिदैनन्, आधुनिक तरिकाले बनाइएका देउसीभैलीका गीतहरु साउण्ड सिस्टममा बजाएर नाच्ने प्रवृत्ति मौलाउँदै गएको छ, जसले गर्दा पुरानो संस्कृति हराउँदै गएको छ ।”

तिहारका बेला घरघरमा पुगेर समूहमा गाइने भैली गीत सुदूरपश्चिमको संस्कृति र सामुदायिक एकताको प्रतीक मानिन्थ्यो । तर अहिले युवापुस्ताले डिजे, आधुनिक गीत र नाचगानलाई प्राथमिकता दिन थालेपछि पुरानो परम्परा लोपोन्मुख बन्न थालेकोप्रति उनले चिन्ता प्रकट गरे ।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बझाङसँगै ती जिल्लाबाट तराईका कैलाली, कञ्चनपुर बसाइँसराइ गरी झरेका समुदायका युवायुवतीले साँझदेखि राति अबेरसम्म भैली गाउँदै रमाइलो गर्ने चलन थियो ।

“भैली गाएर पाएको अन्न, पैसा र आशीर्वादले पर्वको स्वाद फरक हुन्थ्यो”, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका ७२ वर्षीय बासुदेवी पाण्डेय भने, “अब त गाउँघरमा पुराना भैलीका स्वर सुनिँदैन, सब ठाउँमा साउण्ड सिस्टममा देउसीभैलीका आधुनिक गीतहरू मात्रै बज्छन् ।”

शुक्लाफाँटा नगरपालिका–२ का शिक्षक राजबहादुर साउद भन्नुहुन्छ, “पुराना भैलीलगायत सुदूरपश्चिमको संस्कृति जोगाउनका लागि सबैले अगाडि सर्नुपर्ने बेला आएको छ, पुराना मौलिक गीत र संस्कृतिबारे स्थानीय पाठयक्रमै लेख्ने व्यवस्था गरेर बालबालिकालाई सानै उमेरदेखि संस्कृति बुझ्ने अवसर प्रदान गर्नुपर्छ ।”

नासिँदै गएको संस्कृति जोगाउनका लागि समाजका अगुवाहरूले अगाडि सर्नुपर्ने उनी बताए । “डिजे संस्कृतिले गाउँघरका गीत, असल परम्परा, मौलिक संस्कृतिलाई विस्थापन गरेको छ”, शिक्षक साउदले भने, “युवाहरूलाई भैली सिकाउने अवसर र वातावरणको सृजना गर्नु अत्यन्त आवश्यक छ, संरक्षणको प्रयास भएन भने केही वर्षमै भैली गीत बूढापाकाहरूको सम्झनामा मात्र सीमित हुनेछ ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij