Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

खोलामा डुबेर दुई बालकको मृत्यु

खोलामा डुबेर दुई बालकको मृत्यु

रौतहट: रौतहटको झाझ खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ।गरुडा नगरपालिका–५ शिवनगरस्थित झाझ खोलामा शनिबार दिउँसो नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको हो।

मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–३ निवासी सञ्जीव साहका १० वर्षीय छोरा निरज साह र उनका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साह रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब १ बजेतिर दुई बालक नुहाउन झाझ खोलातर्फ गएका थिए। नुहाउने क्रममा खोलाको गहिरो भागमा पुगेपछि उनीहरू डुबेका थिए।

स्थानीय बासिन्दाले बालकहरू डुबिरहेको देखेपछि तत्काल उद्धार गरी शिवनगरस्थित सञ्जीवनी अस्पताल पुर्‍याएका थिए।  चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय शिवनगरका वरिष्ठ सई र इप्रका गरुडाबाट प्रहरी निरीक्षक नरेश बोहराको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाई प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी शंकर आचार्यका अनुसार मृतक दुवै शव प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टमका लागि पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij