इलाम : गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड मर्मत सम्भारपश्चात् आज राति ९ः०० बजेदेखि सवारी सञ्चालनका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको लगातार दुई साताको प्रयासपछि सडक खुलाउन सफल भइएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । उनका अनुसार पहिरो पन्छाउन कार्यालयले छ वटा एक्स्काभेटर, एक जेसिबी, छ वटा टिफर र दुई वटा लोडर परिचालन गरेको थियो ।
‘निकै ठुलो पहिरो खस्नाका साथै दिनहुँ भासिने समस्याले हामीलाई पहिरो पन्छाउन समय लाग्नुका साथै सास्ती पनि भयो’, डिभिजन प्रमुख भट्टराईले भने, ‘निरन्तरको प्रयासले सडक खुलाउन सफल भएका छौँ, पहिरो क्षेत्रमा ठुला सवारीहरू एक पटकमा एउटा मात्र सञ्चालन गरेर सहयोग गरिदिन सरोकार भएका सबैलाई अनुरोध गर्दछौँ ।’
राजमार्ग सञ्चालन भएपछि इलामसहित, पाँचथर र ताप्लेजुङबाट झापा जान तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आउने यात्रु तथा सवारीलाई सहज भएको प्रमुख भट्टराईले बताए । मेची राजमार्ग अवरुद्ध हुँदा यसअघि साना सवारीसाधनका लागि वैकल्पिक मार्गका रूपमा बुधवारदेखि तिल्केनी–सिमलगोलाई सडक खण्ड सञ्चालन गरिएको थियो ।
सो सडक खण्डअन्तर्गत माईजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण गरेर सडक सञ्चालन गरिएको उनले जानकारी दिए ।
वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) भने अझै सञ्चालनमा आउन सकेको छैन । सो सडकअन्तर्गत पुवाखोला खोलाको बेलिब्रिज बाढीले बगाउनाका साथै बेलासेस्थित माई खोलाको पक्की पुल भाँचिएपछि हालसम्म अवरुद्ध छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij