काठमाडौँ : अघिल्ला तीन वर्षमा जस्तै यो वर्ष पनि कार्तिक कृष्ण चतुर्दशीको दिन नै लक्ष्मीपूजा मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक ३ गते बिहान कुकुरपूजा गर्न र साँझमा लक्ष्मीपूजा गर्न निर्देश गरेको छ ।
सामान्यतया कार्तिक कृष्ण त्रयोदशीको दिन बिहान कागपूजा, चतुर्दशीमा कुकुरपूजा र भोलिपल्ट औँसीको राति (साँझ)मा धनधान्यकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ। समितिको सिफारिसमा प्रकाशित २०८२ सालको पञ्चाङ्गमा कात्तिक ३ गते सोमबार २२ घडी ११ पला अर्थात् दिउँसो २ बजेर ५९ मिनेटसम्म चतुर्दशी छ। त्यसपछि औँसी लाग्छ। भोलिपल्ट ४ गते मंगलबार २५ घडी ५३ पला अर्थात् अपराह्न ४ बजेर २९ मिनेटसम्म औँसी छ।
त्यसो भए औँसीमा सूर्योदय हुने दिन लक्ष्मीपूजा नगरेर किन चतुर्दशीमा सूर्योदय भएको दिन लक्ष्मीपूजा गर्न निर्देश गर्यो त समितिले? ‘लक्ष्मीपूजा औँसी रहेको मध्यरातमा गर्न शास्त्रको निर्देश छ’, अध्यक्ष प्रा. शम्भुप्रसाद ढकाल भन्छन्, ‘मंगलबार औँसीमा सूर्योदय भए पनि रातिसम्म रहँदैन। औँसी सोमबार राति नै पर्ने भएकाले त्यसै दिन लक्ष्मीपूजा गर्न भनिएको हो।’
अघिल्ला तीन वर्ष लगातार यस्तै परेको थियो। तिथि बिचमै सकिने र लाग्ने गर्दा ७९, ८० र ८१ मा पनि बिहान कुकुरपूजा र साँझ लक्ष्मीपूजा गरिएको थियो।
तिथि दिनको बिचमा पूरा हुने र नयाँ लाग्ने कारण लक्ष्मीपूजा मात्र होइन पूरै तिहार नै प्रभावित भएको छ। पाँच दिनको भनिने तिहार ६ दिनको भएको छ। तर बिचमा ४ गते खाली भएको छ। अध्यक्ष ढकालका अनुसार ४ गते मंगलबार औँसी तिथिका दिन तिहारका कुनै पनि कर्म गरिने छैन। गाई-गोरुपूजा, गोवर्धनपूजा र बलिपूजा ५ गते बुधबारका दिन गरिनेछ। भाइटीका ७ गते बिहीबार लगाइनेछ।

यता वैदिक तिथि नटुट्ने मान्यता छ। अर्थात् दिन वा रातको बिचमै अर्को तिथि लाग्दैन। बिहान सूर्योदय हुँदा रहेको तिथि अर्को दिन सूर्योदय नभएसम्म रहन्छ। यो तर्कअनुसार पनि जुन तिथि हो त्यसै दिनको कर्म गर्नुपर्ने बताइन्छ। ‘वैदिक तिथि-पत्रम्’ का सम्पादक प्रा.डा.प्रमोदवर्धन कौण्डिन्यायन सोमबार चतुर्दशी र मंगलबार औँसी रहेको बताउँछन्।
दृक्सिद्ध गणनाअनुसार कुरा गर्दा पनि सूर्योदयदेखि अपराह्णसम्म औँसी रहेको दिन कात्तिक ४ गते मंगललबार लक्ष्मीपूजा गर्नुपर्ने बताउँछन् उनी। सोमबार औँसी आरम्भ मात्र हुने मंगलबार साँझ नै औँसीको समाप्ति तथा सूर्य र चन्द्रमा एकै ठाउँमा आउने दिन भएकाले त्यही दिन लक्ष्मीपूजा उचित हुने उनको तर्क छ। ‘२०८२ सालको दृक्सिद्ध गणना अनुसारको पञ्चाङ्गमा कात्तिक ३ गते सोमबार २४ घडी ५७ पला अर्थात् दिउँसो ४ बजेर ५ मिनेटसम्म चतुर्दशी छ। त्यसपछि औँसी लाग्छ’ उनी भन्छन्, ‘भोलिपल्ट ४ गते मंगलबार ३० घडी १७ पला अर्थात् साँझ ६ बजेर १४ मिनेटसम्म औँसी रहन्छ।’
तिथिबारे यस्तै अन्योल भएपछि भक्तपुर (नगर) वासीले भने ३ गते लक्ष्मीपूजा गरेसँगै ४ गते आत्मपूजा (नेपाल संवतको नयाँ वर्ष आरम्भ) र ५ गते भाइटीका गर्ने भएका छन् । स्थानीय ज्योतिषी, तलेजुका पूजारीहरूसँगको छलफलपछि एकसाताअघि भक्तपुर नगरपालिकाले बिचमा खाली नराखी तिहार मनाउने निर्णय गरेको हो । तिथिका कर्म रोक्न नहुने सरासर मनाउनुपर्ने मान्यतालाई आत्मसात गर्दै यो निर्णय गरेको तलेजुका पुजारीमध्ये एक डा. सिद्धिवीर कर्माचार्यले बताए। ‘तिथिको घटबढसँगै सर्वसाधारणमा अन्योल बढेपछि हामी तलेजुका पुजारी, ज्योतिषीलगायत सरोकारवाला बसेर यो निर्णय गरेका हौँ’, उनले भने, ‘नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजा र किजापूजा बेलुकी नै मनाइने भएकाले ती वेला आवश्यक तिथि रहने भएकाले यस्तो निर्णय गरेका हौँ।’

यता तिथि काठमाडौँमै कतिपयले वैदिक कालगणनाको मान्यतालाई आत्मसात गर्दै पाँच नै दिन तिहार मनाउँदैछन्। शंखरापुर नगरपालिकास्थित न्हुदँ समारोह समिति ११४६ ले २ गते कागपूजा, ३ गते कुकुरपूजा, ४ गते लक्ष्मीपूजा, ५ गते म्हपूजा र ६ गते किजापूजा मनाउने तालिका सार्वजनिक गरेको छ। सम्पदासंरक्षण अभियन्ता राजाराम तण्डुकारका अनुसार काठमाडौँ र भक्तपुरकै नेवार समुदायका कतिपयले यसै तालिकाअनुसार तिहार मनाउने तयारी गरेको छ। ‘सूर्योदय हुँदा लागेको तिथिलाई नै आधार मानेर कर्म गर्ने नेवार समुदायको परम्परा छ’, उनी भन्छन्, ‘यसैलाई आधार मानेर तिहार र नयाँ वर्ष मनाउन लागेका हौँ।’

तण्डुकार हरेक दिनको छुट्टाछुट्टै महत्त्व हुने तर्क गर्छन्। प्रत्येक दिन एउटा पर्व मनाउने परम्परालाई गञ्जागोल बनाउन नहुने उनको भनाइ छ। ‘ज्योतिषलाई आधार मान्दै उहाँहरू (समिति) ले निकालेको तालिका ठिकै होला। तर प्रत्येक तिथिमा एउटा कर्म गर्ने परम्परालाई आत्मसात नगर्दा सर्वसाधारणमा अन्योल सिर्जना हुन्छ।’
पाटनका ज्योतिषी उत्तम जोशी चाडपर्व धर्मशास्त्र मात्र नभई र आफ्नो परम्पराअनुसार तय हुने भएकाले काठमाडौँ उपत्यकामा तिहार मनाउने विषयमा मतभेद देखिएको बताउँछन्। ‘भक्तपुरमा तलेजु, पाटनमा सुनको मन्दिर र काठमाडौँमा मच्छिन्द्रनाथको मन्दिरबाट पर्व मनाउने तिथि तय हुने तथ्यलाई सरकारी समितिले आत्मसात गर्न नसकेको देखियो’, उनले भने। तर पाटनमा भने यो वर्ष समितिकै पात्रोअनुसार तिहार मनाउने निर्णय भएको उनले जानकारी दिए।
कौण्डिन्यायन प्रत्येक दिन छुट्टाछुट्टै पर्व मनाउने वा कर्म गर्ने परम्परा लिच्छविकालमै रहेको दाबी गर्छन्। ‘नेपालमण्डलमा एउटा तिथि अहोरात्र रहने र जुन तिथिको कर्म हो त्यसै दिन गर्ने परम्परा थियो’, उनी भन्छन्, ‘लिच्छविकाल र मल्लकालमा उपत्यकाका तीन नगरमा यसरी नै चाडपर्व मनाउने प्रचलन रहेको ती वेलाका अभिलेखले प्रष्ट पार्छन्।
यता समितिका अध्यक्ष ढकाल पनि ती समयमा सूक्ष्म किसिमले तिथि गणना गर्ने अभ्यास नभइसकेकाले दिनलाई आधार मान्ने परम्परा रहेको तर्क गर्छन्। तर अहिले पञ्चाङ्गमा उल्लेख भए पनि आफ्नो कुल–परम्परा महत्त्वपूर्ण हुने पनि उनी बताउँछन्। ‘धर्मशास्त्रलाई आधार मान्दै ज्योतिषीय सूक्ष्म गणनाअनुसार पर्व तय गरेका हौँ’, उनी भन्छन्, ‘कतिपयले आफ्नो परम्पराअनुसार गर्छु भन्नुहुन्छ भने त्यसलाई अनुचित भन्न सकिँदैन।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij