काठमाडौँ : भदौ २३ र २४ गते देशभरका ४८४ ठाउँमा आन्दोलन भएको नेपाली सेनाले जनाएको छ।शुक्रवार पत्रकार सम्मेलन गर्दै गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलन देशभरका ४८४ स्थानमा भएको नेपाली सेनाले जनाएको हो। सेनाका अनुसार आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ प्रहरी, १० कैदीबन्दी र अन्य ४१ जनाको मृत्यु भएको छ।
पत्रकार सम्मेलनमा नेपाली सेनाका युद्धकार्य निर्देशनालयका निर्देशक मनोज थापाले आन्दोलनका क्रममा ६८८ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको बताए। उनले २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ वटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको बताए।
आन्दोलनका क्रममा देशभरबाट १५ हजार ५८८ कैदीबन्दी फरार भएको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार ८ हजार ७९९ पक्राउ र फिर्ता भएका छन्।
त्यसैगरी ९७८ हतियार लुटिएकोमा ५८६ हतियार फिर्ता ल्याइएको बताएको छ। आन्दोलनका क्रममा मृत्यु भई टिचिङ अस्पतालमा रहेका ११ वटा शवको पहिचान हुन नसकेको बताए। विशेष परिस्थितिमा निर्वाचन भइरहेकाले चुनौतीपूर्ण रहेको बताए। सबैले पहल गरेको खण्डमा निर्वाचनका लागि चाहिने शान्ति सुरक्षाको स्थिति बन्दै जाने र समयमै निर्वाचन गर्न सकिने स्पष्ट पारे।
सम्मेलनमा नेपाली सेनाले आन्दोलनमा विदेशी घुसपैठको सम्भावनाबारे अध्ययनरत रहेको बताएको छ। नेपाली सेनाका युद्धकार्य विभागका विभागीय प्रमुख अनुपजंग थापाले वर्तमान परिस्थितिलाई मध्यनजर गरी समग्र मुलुकको आगामी कार्यदिशा स्पष्ट र परिणाममुखी हुन जरुरी रहेको बताए।
त्यसका लागि नेपाली सेनाले आफ्नो स्रोत, साधन र पेशागत क्षमता बढाउँदै कुनैपनि सम्भावित चुनौतीको सामना गर्न सदा तयार रहनुपर्ने आवश्यकता महसुस गरेको बताए।
उनले आन्दोलनको क्रममा लुटिएका हतियार र फरार कैदी एवं तिनीहरूको समिश्रणबाट आम समाजमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई सेनाले पनि गम्भीरतापूर्वक लिएको बताए।
हतियार र कैदी फिर्ता गर्न सबैले साझा प्रयास गर्न अपिल गरे। सबै मिलेर राष्ट्रिय हितको संरक्षण, संवर्धन र प्रवर्धन गर्न हातेमालो गर्न आह्वान गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij