Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जेनजीको नाममा धम्क्याउने शाहीसँग असईको परिचयपत्र

जेनजीको नाममा धम्क्याउने शाहीसँग असईको परिचयपत्र

काठमाडौँ : जेनजी प्रदर्शनपछि उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाहीको साथबाट प्रहरीले असईको परिचयपत्र बरामद गरेको छ । असोज २९ मा पक्राउ परेका शाहीको साथबाट प्रहरी सहायक निरीक्षकको परिचयपत्र बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाही ठगी र बैंकिङ कसुरको फरार अभियुक्त समेत हुन् । शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, वायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा त्यहाँको नेतृत्वलाई धम्क्याएको थियो ।

उनले कोरिया पठाउँछु भनेर रामेछापको सुनापति गाउँपालिका वडा नम्बर २ घर भएका ३ जना सहित ६ जनाको पासपोर्ट लिएको भेटिएको छ । रोजन थापा मगर सहितका युवाहरूलाई कोरिया पुगेर रकम दिए हुन्छ भनेर उनले चेक लिएको र त्यसमा रकम भरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

रेडस्टार मिडियाको पत्रकार बनाएर कोरिया पठाउँछु भनेर उनले खाली चेक लिएका हुन् । प्रतिव्यक्ति १२ लाख लाग्छ भनेर उनले चेक लिएको पीडितहरूको भनाइ छ । पीडितहरूले सो चेकमा रकम भरेर बाउन्स गरेको भन्दै शाही विरुद्ध काठमाडौँ प्रहरीमा उजुरी गरेका छन् ।

शाहीले जापान पठाउँछु भनेर पनि ठगी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । जेनजी प्रदर्शनपछि सुशीला कार्की प्रधानमन्त्री बनेपछि शाही शीलत निवासमा आयोजित शपथग्रहण समारोहमा सहभागी भएको फोटो सामाजिक सञ्जालमा यत्रतत्र छ । सरकार विस्तार भएसँगै उनले संवैधानिक निकाय र उच्च पदस्थ सरकारी अधिकारीहरूलाई धम्क्याउन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij