Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

गुल्मीको रेसुङ्गा र मदाने वन दुर्लभ चराको मुख्य आश्रयस्थल

गुल्मीको रेसुङ्गा र मदाने वन दुर्लभ चराको मुख्य आश्रयस्थल

गुल्मी : गुल्मी जिल्लास्थित रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्र दुर्लभ चराहरूको मुख्य वासस्थानका रूपमा चिनिँदै गएको छ। नेपाल पंक्षी संरक्षण सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईका अनुसार विश्वमै दुर्लभ ६ प्रजातिका चरा अहिले गुल्मीमा फेला परेका छन्।

दुर्लभ चरामध्ये चिरकालीज, रणमत्त महाचिल, डङ्गर गिद्ध, सोतो गिद्ध, सुन गिद्ध र गोमायो महाचिल रेसुङ्गा वनमा पाइने मुख्य प्रजातिहरू हुन्। साथै नेपालमै मात्र पाइने काँडे भ्याकुर पनि यही क्षेत्रमा भेटिने भएकाले यसको संरक्षणलाई अति संवेदनशील मानिएको छ।

नेपालमा हाल ९०२ प्रजातिका चरा फेला परेका छन्, जसमा करिब ३५ प्रतिशतभन्दा बढी प्रजाति गुल्मी जिल्लामै पाइने भएको सङ्घले जनाएको छ। पछिल्लो पंक्षी सर्भेक्षणअनुसार रेसुङ्गा वनमा २७६ र मदाने वन क्षेत्रमा २८९ गरी ३२५ प्रजातिका चराहरूको रेकर्ड गरिएको छ।

स्थानीयवासी र सरोकारवालाले दुर्लभ प्रजातिका चराको वासस्थान जोगाउन विशेष प्रयास गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल पंक्षी संरक्षण सङ्घले जीविकोपार्जन र संरक्षण समायोजन कार्यक्रम मार्फत स्थानीयलाई संलग्न गराई संरक्षण अभियान सञ्चालन गर्दै आएको छ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीका अनुसार, गुल्मीमा धार्मिक पर्यटनसँगै चरा पर्यटन (Bird Tourism) को पनि ठूलो सम्भावना रहेको छ। यसले जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकास र स्थानीय आम्दानीमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ।

तर, चराको संरक्षणमा वासस्थान विनाश, पानीको अभाव, वन–डढेलो, अवैध सिकार र जनचेतनाको कमी जस्ता समस्या अझै चुनौतीका रूपमा रहेका छन्। सङ्घले विगत दश वर्षदेखि डिभिजन वन कार्यालयसँग सहकार्य गर्दै चरा संरक्षणमा निरन्तर काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij