बारा : बारामा हैजाविरुद्ध खोप अभियान सुरु भएको छ । जिल्लाको १६ वटा पालिकामध्ये जीतपुरसिमरा उपमहानगर, कलैया उपमहानगर, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा खोप अभियान सुरु भएको हो ।
आजदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुने खोप अभियान अन्तर्गत बारामा ३ लाख ६५ हजार ९३१ जनालाई खोप दिइनेछ । जीतपुरसिमरा उपमहानगर स्वास्थ्य शाखा प्रमुख रविकुमार भाष्करले पालिकाभित्र रहेका २५ वटै स्वास्थ्य संस्थामार्फत् खोप अभियान सुरु गरिएको बताए ।
उनले चाडपर्वका कारण उपमहानगरभित्रका सामुदायिक विद्यालय हाल बन्द रहेको जनाउँदै असोज ३० र ३१ गते २ दिन विद्यालय सञ्चालन गरेर विद्यार्थीहरूलाई खोप दिइने जनाए । जिल्ला जनस्वास्थ्य कार्यालयका बाराका प्रमुख रामनरेश यादवले खोप अभियानका लागि ७५ वटा वडा कार्यालयमा २१० जना स्वास्थ्यकर्मी र ३७९ जना महिला स्वास्थ्य स्वंयसेविका खटाइएको बताए । ‘सुरुमा स्वास्थ्य संस्था, वडा कार्यालय, नगरपालिका र सरकारी कार्यालयहरूमा अभियान सञ्चालन हुन्छ । त्यसपछि छुटेकाहरूलाई घरघरमा पुगेर खुवाइन्छ,’ यादवले भने, ‘बारा जिल्लामा ६ वटा पालिकाका ७५ वटा वडाका ३ लाख ६५ हजार ९३१ जनालाई खुवाउने लक्ष्य छ ।’
बाराका १६ पालिकामध्ये हैजा प्रभावित क्षेत्रमा अभियान सञ्चालन गरिएको हो । वीरगञ्ज महानगर र पर्सा जिल्लासँग सीमा जोडिएका बाराका पालिकाहरूलाई खोप अभियान अन्तर्गत छनोट गरिएको हो ।
पर्सामा भने वीरगञ्ज महानगरपालिकासहित जिल्लाको १४ वटा पालिकामा आइतबारदेखि नै खोप अभियान सुरु भइसकेको छ । पर्सामा १ लाख १६ हजार ११८ घरधुरीका ६ लाख ५२ हजार १२९ लक्षित जनसंख्यालाई खोप उपलब्ध गराउने लक्ष्य राखिएको छ । त्यसका लागि ११७ स्वास्थ्य संस्थासहित १ हजार ९५१ खोप केन्द्र तय गरिएको छ ।
भदौ ६ मा पहिलो पटक वीरगञ्जको मुर्लीटोलका एक जना बिरामीमा आरडीटी परीक्षणबाट हैजा संक्रमण पुष्टि भएको थियो । यो अभियानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफ, रेडक्रस लगायतको समन्वयमा बनेको अन्तर्राष्ट्रिय समन्वय समूह (आईसीजी) ले मुखबाट लिने हैजा विरुद्धको ‘ओरल कोलेरा भ्याक्सिन’ (ओसीभी) उपलब्ध गराएको छ ।
खोप अभियान सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार र आइतबार गरी २ चरणमा १० लाख १८ हजार ५२ थान खोप पथलैयास्थित केन्द्रीय खोप भण्डारणमा ल्याएको थियो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतमले हैजाविरुद्ध खोप लिन पाउनु एउटा अवसर भएकाले सबैले खोप लिनुपर्ने बताए । हैजा विरुद्धको खोपले ६ महिनासम्म हैजा लाग्न नदिने र पछिसम्म काम गर्ने गरी प्रतिरोधी क्षमताको विकास गर्ने उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij