इलाम : अवरुद्ध मेची राजमार्ग सात दिनसम्म पनि सुचारु हुन नसकेपछि सडक डिभिजन कार्यालय इलामले वैकल्पिक सडक प्रयोगमा ल्याउने तयारी थालेको छ। राजदुवालीस्थित माइखोलामाथि भित्रभित्रै जमिन बग्ने समस्या निरन्तर देखिएपछि सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरिएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताए।
यसअघि नै वैकल्पिक मार्गका रूपमा तयार पारिँदै आएको सिमल गोलाई–तिल्केनी सडकको जोगमाई खोलामा असारमा एक करोड ९१ लाख रुपियाँ लागतमा जडान गरिएको बेली ब्रिज असोज १८ गतेको बाढीले बगाएको थियो। त्यसपछि इलाम सदरमुकामसँगको वैकल्पिक पहुँचसमेत अवरुद्ध भएको हो।
भट्टराईका अनुसार माइखोलामाथिको सडकमा ट्याक खोल्ने काम भइरहे पनि तत्काल सवारी साधनका लागि सुरक्षित छैन। “जोगमाई खण्डमा ह्युमपाइप राखेर सडक सञ्चालनका लागि आजदेखि काम थालिएको छ। राजदुवाली खण्डको मर्मत पनि चलिरहेको छ। ताप्लेजुङसम्मको जनजीवन कष्टकर नहोस् भनेर वैकल्पिक मार्ग तयार गर्दैछौँ,” उहाँले बताए।
सिमल गोलाई–तिल्केनी सडकमा गएको आर्थिक वर्षमा सात किलोमिटर ग्राभेल, एक किलोमिटर सोलिङ, पाँच स्थानमा ह्युमपाइप तथा साँघुरा गोलाइ चौडा गर्ने कामको ठेक्का दिइएको थियो। करिब तीन करोड ४६ लाख लागतको यो सडकमा गत आवमा १९.५५ प्रतिशत मात्र वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ।
२०७९ वैशाख १९ गते सम्झौता भएको उक्त ठेक्का असार २० भित्र सक्नुपर्ने भए पनि पूर्वाञ्चल नेपाल सिंग जेभीले अहिलेसम्म ५० प्रतिशत मात्र काम सम्पन्न गरेको डिभिजन कार्यालयले जनाएको छ। इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले यही सडकको मर्मत र स्तरोन्नति नै पूर्वी पहाडका लागि सबभन्दा उपयुक्त विकल्प भएको बताए।
यता शुक्रबार मेची राजमार्गको स्थलगत अवलोकन गर्न आएका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङसँग जिल्लास्थित सरोकारवालाहरूले राजदुवाली खण्डको दीर्घकालीन विकल्प खोज्न आग्रह गरेका थिए। उनीहरूले वर्षौँदेखि करोडौँ रुपियाँ माटोमै बगिरहेको भन्दै तत्काल समाधानको माग राखे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij