ढल्केबर : मिथिला नगरपालिकाका शिक्षकहरूले तलब – भत्ता नपाएको भन्दै आइतबारदेखि अनिश्चितकालीन धर्ना सुरू गरेका छन्। उनीहरू नगरपालिकाको ढल्केबरस्थित कार्यालय परिसरमै धर्नामा बसेका हुन्।
शिक्षक आन्दोलन परिचालन समिति मिथिलाका संयोजक रामप्रसाद खरेलका अनुसार पटक–पटक माग गर्दा पनि नगरपालिकाले तलब भत्ता निकासा नगरेपछि बाध्य भएर धर्ना बस्नुपरेको हो। समितिले खातामा रकम जम्मा नभएसम्म आन्दोलन नअर्किने चेतावनी दिएको छ।
खरेलले भने, “दसैँ–तिहार जस्ता चाडपर्वमा पनि तलब नपाउँदा हामी आर्थिक सङ्कटमा परेका छौँ। सङ्घीय सरकारले पठाएको रकम जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण रोकिएको अवस्था छ।”
उनीहरूले तत्काल तलब निकासा गरी शैक्षिक वातावरण सहज बनाउन नगरपालिकासँग माग गरेका छन्। शिक्षकहरूका अनुसार हालको अवस्थाले विद्यालय सञ्चालन र पारिवारिक जीवन दुवै प्रभावित भएको छ।