Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

चुलु फार ईस्ट हिमालमा सशस्त्र प्रहरी बलको झण्डा फहराइयो

चुलु फार ईस्ट हिमालमा सशस्त्र प्रहरी बलको झण्डा फहराइयो

काठमाडौँ : सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलसहित ७ जना सशस्त्र प्रहरी कर्मचारीहरूले दामोदर हिमशृङ्खला अन्तर्गत पर्ने ६ हजार ३८ मिटर अग्लो चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका छन्। असोज २५ गते बिहान ७ बजेको समयमा उनीहरूले हिमालको शिखरमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएका हुन्।

यो आरोहण पर्वतीय उद्धारको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको क्षमता अभिवृद्धि गर्नमा कोशेढुङ्गा साबित हुने विश्वास लिइएको छ। साथै, यसले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने र मनाङमा सञ्चालन भइरहेको पर्वतीय उद्धार तालिम शिक्षालयका लागि आवश्यक प्रशिक्षकहरूको उत्पादनमा ठुलो भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

केही समयअगाडि सशस्त्र प्रहरी बलले चुलु फार ईस्ट हिमाल आरोहण गर्न अनुमति खुल्ला गर्ने प्रक्रियामा पहल गरेको थियो, जसको फलस्वरूप उनीहरूलाई आरोहण गर्ने अवसर मिलेको हो। यसअघि चुलु ईस्ट हिमालको अनुमति लिएर चुलु फार ईस्ट हिमालको आरोहण गर्ने प्रचलन थियो। सशस्त्र प्रहरी बलको यस आरोहणपश्चात् चुलु फार ईस्ट हिमाल आरोहणले कानुनी हिसाबमा वैधानिकता समेत प्राप्त गरेको छ।

सशस्त्र प्रहरी नायव उपरीक्षक पौडेलसहित ७ जना कर्मचारीले निम तेम्वा शेर्पा र सुम्बा छिरी शेर्पाको गाइडलाइनमा ‘फोर्टिन पिक्स एक्सपीडिसन’ मार्फत उक्त हिमाल आरोहण गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij