Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

अझै खुलेन मेची राजमार्ग

अझै खुलेन मेची राजमार्ग

इलाम :  गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्डमा ठुलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ ।

सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् । सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् । सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताए । ठुलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उनले बताए ।

“सडक खुलाउन हामी दिनरात लागिरहेका छौँ”, उनले भने, “तर सिङ्गो डाँडा नै भासिएकाले समस्या भएको हो ।” पहिरो पन्छाउन सडक डिभिजनले तीन वटा एस्काभेटरको प्रयोग गरेको छ ।

Laxmi sunrise bank

सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक मर्मतकै क्रममा रहेकाले सुरक्षित रूपमा आवागमन गर्न सकिने गरी मर्मत नहुन्जेलसम्म सो सडक सञ्चालनमा रोक लगाइएको बताए । “सडकखण्ड मर्मतकै क्रममा छ । सुरक्षित रूपमा आवागमन गर्न सकिने गरी मर्मत नहुन्जेलसम्म सडक सञ्चालनमा रोक लगाएका छौँ”, उनले भने।

राजमार्गको राजदुवाली र इलाम–नेपालटार खण्डको मिलगोलाईमा ठुलो क्षति पुगेको छ । मिलगोलाईको अवरोध हटाइसकिएको सडक डिभिजनले जनाएको छ । मिलगोलाईको अवरोध हटाएपछि पाँचथर र ताप्लुजेङबाट राजदुवाली पहिरोमाथिसम्म सवारी सञ्चालनमा आएको छ । झापाबाट फिक्कल हुँदै माईखोलासम्म यातायात नियमित सञ्चालनमा छ । तर राजदुवालीमा पहिरो खसेकाले सडक अझै अवरुद्ध रहँदा इलामसहित पाँचथर, ताप्लेजुङ र झापाका यात्रुहरू प्रभावित भएका छन् ।

इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारीसाधन राजदुवाली पहिरोमाथि र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन माईखोलामा रोकिएका छन् । सो ठाउँदेखि पहिरोमाथिसम्म करिब डेढ किलोमिटर यात्रुहरूलाई पैदल नै आवतजावत गर्नुपर्ने बाध्यता छ । बिरामी र ज्येष्ठ नागरिकलाई भने स्टेचरमा बोकेर माईखोला पारिबाट राजदुवाली माथिसम्म र राजदुवाली माथिबाट माईखोला पारिसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।

वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची करिडोर ९केचना–कञ्चनजङ्घा सडक०अन्तर्गत पुवाखोला र तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाईखोलाको बेलीब्रिज पनि बाढीले बगाएपछि इलामबाट झापा झर्ने कुनै सडक खुलेको छैन । बाढी पहिरोका कारण जिल्लाका अधिकांश स्थानीय पालिका सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तह हालसम्म सदरमुकामसँगको सडक सञ्जालबाट विच्छेद भएका छन् । राजदुवाली सडकखण्ड अवरुद्ध भएकाले सूर्योदय नगरपालिका, बेलासे सडकखण्डको पुल भाँचिएपछि माई नगरपालिका, देउमाई पुल भत्किएकाले माङसेबुङ गाउँपालिका, जोगमाई खोलाको बेलीब्रिज बगाएपछि माईजोगमाई गाउँपालिकाका सडक क्षतविक्षत भएकाले फाकफोकथुम गाउँपालिका सदरमुकामसँगको सडक आवागमनबाट विच्छेद छन् ।

इलाममा हालैको सानाठूला गरी १९ पक्की पुल, दुई बेलीब्रिज, ११ कल्भर्ट र तीन झोलुङ्गे पुलमा क्षति पुगेको छ भने ३१ सडकमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ बाढीपहिरोबाट ३९ जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका र एक जना बेपत्ता छन् । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले ती घटनाबाट दुई सय ७६ परिवार विस्थापित, एक सय ५१ घर पूर्ण र तीन सय २७ घर आंशिक क्षतिग्रस्त भएको बताइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij