म्याग्दी : म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन् । शरद्यामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खायाममा हिमालको फेदीमा पुगेका गाईभैँसी, भेँडाबाख्राका गोठ गाउँ नजिकैका खर्कमा झार्न थालेका हुन् ।
पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ । धौलागिरि गाउँपालिका–३ मल्कवाङका देवान छन्त्यालले धौलागिरि हिमालको फेदीमा पुगेर तीन महिना बुकीको घाँस खुवाएपछि बेँसीतर्फ गोठ झार्न थालेका बताए । उनका अनुसार हाल मकै भित्र्याएको बारीमा राखिएको गोठ धान र कोदो भित्र्याएपछि मङ्सिरमा बेँसीको फाँटमा झार्ने चलन छ ।
पोषिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु र भेँडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला बन्दोबस्तीका सामान बोकेर लेकबेँसी गर्छन् । हिमाली क्षेत्रको बुकीको पोषिलो घाँस खाएका पशुचौपाया स्वस्थ, बलिया र दूधालु हुने धवलागिरि–३ मुनाका लीलबहादुर पुनले बताए । गाउँ झरेका गोठाला र गाईवस्तुको चहलपहल बढेको उनको भनाइ छ ।
पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन् । ती पाखामा असङ्ख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन् । महिनौँ पुग्ने खर्चबर्च बोकेर गएका गोठाला गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुन्छ ।
खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेर्साएर त्रिपाल र पाल राखेर अस्थायी गोठ बनाइन्छ । ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण र धौलागिरि हिमाल आसपासका क्षेत्रमा गोठ लैजाने गरिन्छ ।
धवलागिरिको गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ, मल्कवाङ, रघुगङ्गाको कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम, ठाडाखानी, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख, राम्चेका किसानले घुम्ती गोठमा परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् ।
बेंँसीका खेतबारीमा घुम्ती गोठ राखेर जमिनलाई मलिलो बनाउने चलन छ । युवा पुस्ताले बेवास्ता गर्दा र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा गरिने पशुपालन सङ्कटमा परेको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij