Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जेनजी आन्दोलनका घाइतेलाई कोरियाली दूतावासको सहयोग

जेनजी आन्दोलनका घाइतेलाई कोरियाली दूतावासको सहयोग

काठमाडौँ :  नेपालस्थित दक्षिण कोरियाली दूतावासले शनिबारका दिन काठमाडौँको ठमेलमा गत भदौ २३२४ मा भएको जेनजी आन्दोलनका घाइतेहरूलाई सहयोग जुटाउन एक कार्यक्रम आयोजना गरेको छ। दूतावासले आन्दोलनमा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूको सम्मानमा शोक कार्यक्रम समेत गरेको हो।

दूतावासले नेपालमा रहेको कोरियाली समुदायको सहभागितामा आन्दोलनका क्रममा जीवन गुमाएका र बलिदान दिएकाहरूप्रति गहिरो शोक व्यक्त गर्दै उनीहरूको महान् बलिदानको स्मरण गरेको थियो।

यसै कार्यक्रममा कोरियाली समाज, नेपालमा रहेका कोरियाली उद्यमी लगायतले घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउन रकम सङ्कलन अभियान चलाएका छन्। नेपालमा रहेको कोरियाली समुदायको अगुवाइमा सुरु भएको यो अभियानमा कोरियाली खानाका परिकार उपलब्ध गराएर सहयोगका लागि आह्वान गरिएको थियो।

अभियान सुरु भएको छोटो समयमै उल्लेखनीय रकम सङ्कलन भएको दूतावासले जनाएको छ। कार्यक्रमको शुभारम्भ गर्दै नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थे यङले गणतन्त्र कोरिया नेपालको सधैँको मित्र भएको उल्लेख गर्दै हरेक विपत्तिको घडीमा नेपालको साथ दिने धारणा व्यक्त गरे।

उनले आन्दोलनमा भएको भौतिक क्षति पुनर्निर्माणका लागि गणतन्त्र कोरिया सरकारले आवश्यकताका आधारमा सहयोग गर्दै जाने पनि जानकारी दिए। राजदूत पार्कले प्रजातान्त्रिक प्रक्रियाका लागि नेपाली जनता र सरकारले खेलेको भूमिकाको प्रशंसा समेत गरे।

कार्यक्रममा दूतावासका कर्मचारी, कोइका, ईपीएस, नेपालमा लगानी गरेका कोरियाली उद्यमी लगायत कोरियाली समुदायको बाक्लो उपस्थिति थियो।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij