एजेसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको आफ्नो नियोजित बैठक आधिकारिक रूपमा रद्द नगरेको भन्दै ‘सीलाई भेट्ने कुनै कारण छैन’ भन्ने आफ्नो हालैको टिप्पणीबारे स्पष्ट पारेका छन्।
ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज तत्व) हरूको निर्यातमा इजाजतपत्र अनिवार्य गर्ने नयाँ नीति ल्याएकोमा आश्चर्य व्यक्त गर्दै यस कदमलाई ‘अप्रत्याशित’ भने।
“मैले बैठक रद्द गरेको होइन। यद्यपि, त्यो निश्चित छ वा छैन भन्ने कुरा पक्का छैन। जे भए पनि म त्यहाँ हुनेछु। म अनुमान गर्छु, बैठक हुन सक्छ। तर उनीहरूले संसारलाई अचम्म पार्ने कदम चाले। अचानक, कुनै पूर्वसूचना बिना उनीहरूले यो सम्पूर्ण आयात–निर्यात अवधारणा ल्याए, जसको बारेमा कसैलाई थाहा थिएन”, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने।
यसअघि उनले चीनले दुर्लभ पृथ्वी तत्वहरूमा नयाँ निर्यात नियन्त्रण लगाएको ‘धेरै शत्रुतापूर्ण’ कदम भएको टिप्पणी गर्दै सी जिनपिङसँग भेट्ने कुनै कारण नभएको बताएका थिए। उनले अमेरिकाले यसका विरुद्ध कडा प्रतिक्रिया दिने चेतावनी पनि दिए।
चीनले प्रतिबन्धहरू फिर्ता लिएमा अमेरिकाले थप करहरू फिर्ता लिन्छ कि भन्ने प्रश्नमा ट्रम्पले भने, “हामीले के हुन्छ भनेर हेर्नुपर्छ, त्यसैले मैले मिति नोभेम्बर १ तोकेको हुँ।”
उनले अमेरिकाले अब विमानका पुर्जादेखि सफ्टवेयरभन्दा बाहेकका अन्य वस्तुहरूमा पनि निर्यात नियन्त्रण गर्ने विचार गरिरहेको बताए।
“हामीसँग विमान र तिनका पार्ट्सहरू छन्। हामी चीनको कदमबाट साँच्चिकै चकित भयौँ। मेरो राष्ट्रपति सीसँग धेरै राम्रो सम्बन्ध छ, तर यो मैले उक्साएको होइन। यो उनीहरूले गरेका कार्यहरूको मात्र प्रतिक्रिया हो। वास्तवमा उनीहरूले हामीलाई मात्र होइन, सम्पूर्ण विश्वलाई लक्षित गरे। यो धेरै नै खराब कदम हो”, ट्रम्पले भने।
चीनले दुर्लभ पृथ्वी तत्वहरू र तिनसँग सम्बन्धित प्रविधिहरूमा प्रतिबन्ध विस्तार गरेपछि ट्रम्पले घोषणा अमेरिकाले सन् २०२५ नोभेम्बर १ देखि चीनबाट आयात हुने सबै सामानमा ‘हाल लागिरहेका कुनै पनि करभन्दा माथि’ १०० प्रतिशत कर लगाउने घोषणा गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij