Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

अमेरिकाको सैन्य कारखानामा विस्फोट, १९ जना बेपत्ता

अमेरिकाको सैन्य कारखानामा विस्फोट, १९ जना बेपत्ता

टेनेसी :  शुक्रबार अमेरिकाको टेनेसीमा रहेको सैन्य विस्फोटक पदार्थ निर्माण गर्ने एक कारखानामा विस्फोट हुँदा कम्तीमा १९ जना मानिस बेपत्ता भएका छन्।

हम्फ्रेज काउन्टीका शेरिफ क्रिस डेभिसले यो ठुलो विस्फोटले कारखानालाई पूर्ण रूपमा ध्वस्त बनाएको बताएका छन्। उनले चार वा पाँच जनालाई नजिकैको अस्पतालमा लगिएको र केही व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्।

नासभिलबाट करिब ९० किलोमिटर दक्षिण पश्चिममा पर्ने बक्सनोर्ट, टेनेसीमा रहेको यो कारखाना विस्फोटक पदार्थको विकास, निर्माण, ह्यान्डलिङ र भण्डारण मा विशेषज्ञता राख्छ। यो एक्युरेट एनरजेटिक सिस्टम्सको स्वामित्वमा छ। विस्फोटको कारण भने अझै स्पष्ट हुन सकेको छैन।

घटनास्थलको भिडियोहरूमा जलेको भग्नावशेष, धुवाँ निस्किरहेका गाडीहरू र कारखानाको केही भाग मात्र सग्लो रहेको देखिन्छ।

पहिलो मिडिया ब्रिफिङको क्रममा भावुक देखिएका शेरिफ डेभिसले मृत्यु हुनेको ठिक सङ्ख्या बताउन मानेनन्। उनले विस्फोट हुँदा प्लान्ट चालु अवस्थामा रहेको र थप विस्फोटले उद्धारकर्मीहरूलाई घटनास्थलबाट टाढै बस्न बाध्य पारेको जानकारी दिए।

उनका अनुसार दिनको सुरुवात गर्दै गरेका मजदुरहरू अहिले बेपत्ता वा मृत हुन सक्छन्। ‘हामीले १९ आत्मा गुमाइरहेका छौँ,’ डेभिसले भने।

घण्टौँ पछि भएको दोस्रो ब्रिफिङमा डेभिसले १९ जना अझै बेपत्ता रहेको र विस्फोट एउटा ठुलो भवनमा भएको पुष्टि गरे। उनले यो विस्फोट यति शक्तिशाली थियो कि यसले आधा वर्ग माइलसम्म भग्नावशेष छरेको बताए । प्लान्टबाट करिब २५ किलोमिटर उत्तर पश्चिममा रहेको वेभर्ली सहरका मानिसहरूले पनि यो आवाज सुनेको र महसुस गरेको बताए।

विस्फोट दुर्घटना वा जानाजान थियो भन्नेबारेमा डेभिसले कुनै जवाफ दिन अस्वीकार गरे। टेनेसीका गभर्नर बिल लीले सामाजिक सञ्जालमा यसलाई ‘दुःखद घटना’ भन्दै आफ्नो कार्यालयले अवस्थाको निगरानी गरिरहेको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट