Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बीपी राजमार्गमा शनिबार बिहानदेखि सवारी खुलाइने

बीपी राजमार्गमा शनिबार बिहानदेखि सवारी खुलाइने

काभ्रेपलान्चोक : गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलान्चोकको सडक खण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ ।

आज बिहानसम्म राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमान योगेशले बताए। उनका अनुसार आज दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्र्याक खोल्ने योजना छ ।

‘ट्र्याक खोलिसकेपछि पुनः एकपटक सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्नेछौँ, शनिबार बिहानदेखि पूर्णरुपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ’, उनले भने । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । मङ्गलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण थालिएको हो । योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिरहेको बताए ।

उनले भने, ‘सबै ट्र्याक खोलिसकेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत गर्नुपर्ने देखिन्छ, आज साँझसम्ममा सडक खोल्ने काम पूरा भइसक्छ ।’ उनका अनुसार अहिले रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा डाइभर्सन निर्माण भइरहेको छ ।

बाढी पहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्‍याएको थियो । सोही क्षेत्रमा गत वर्षको बाढी पहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सञ्चालन गर्ने गरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिएका थिए । घिसिङले रातको समयमा काम गरेर भए पनि आज बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिन भनेका थिए ।

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij