काठमाडौँ : हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ।उक्त हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला यु–१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीको तस्वीर अङ्कित हुलाक टिकटमा टाँचा लगाउनुका साथै प्रदर्शनी गरेको हो।
खेलकुदको माध्यमबाट अन्ताराष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली क्रिकेट खेलाडीको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको विभागले जनाएको छ। विभागले २०८१ चैत्र १७ गतेको निर्णयानुसार रु. १० दरको पाँच लाखप्रति हुलाक टिकट प्रकाशन गरेको हो।
नेपाल सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा भएको नवौँ सस्करणको विश्वकपमा सहभागी भएको थियो। एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुँदै नेपाली टिम विश्वकप खेल्न सफल भएको थियो।
त्यसैगरी महिला क्रिकेटको उमेर समूहअन्तर्गत यु–१९ विश्वकप क्रिकेटमा नेपाली टिमले खेलेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij