Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सुदूरपश्चिममा दसैँको अवधिमा दुर्घटनामा परेर ८ जनाको मृत्यु

सुदूरपश्चिममा दसैँको अवधिमा दुर्घटनामा परेर ८ जनाको मृत्यु

धनगढी : दसैँको अवधिमा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा प्रदेशका विभिन्न जिल्लामा भएका सडक दुर्घटनामा परी ८ जनाको मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा परेर एक सय २२ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले दिएको जानकारी अनुसार यस अवधिमा प्रदेशका पाँच जिल्लामा कुल ४९ वटा सवारीसाधन दुर्घटनामा परेका थिए ।

ट्राफिक प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार सबैभन्दा बढी दुर्घटना कैलाली र कञ्चनपुर जिल्लामा भएका छन् । यी दुई जिल्लामा २१–२१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । अन्य जिल्लाहरूको तथ्याङ्क हेर्दा, बैतडीमा भएका पाँच वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। दार्चुलामा पनि एक जनाको मृत्यु भएको छ र १० जना घाइते भएका छन् ।

डडेल्धुरामा एउटा सवारीसाधन दुर्घटना हुँदा सात जना घाइते भए पनि कुनै मानवीय क्षति भने नभएको डीएसपी जोराले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका चार जिल्लाहरू – डोटी, बाजुरा, अछाम र बझाङ भने दसैँको समयमा कुनै पनि सवारी दुर्घटना नभएको तथ्याङ्कले देखाएको छ ।

ट्राफिक नियम उल्लङ्घनबाट ८ लाख ७३ हजार राजस्व सङ्कलन

दसैँको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनहरूबाट सुदूरपश्चिम प्रदेशमा ८ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । प्रदेशका सबै नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनहरूलाई गरिएको कारबाहीबाट उक्त रकम सङ्कलन भएको हो ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार सबैभन्दा धेरै राजस्व कैलाली जिल्लाबाट सङ्कलन भएको छ, जहाँ चार लाख ६७ हजार रुपैयाँ उठेको छ। त्यसपछि कञ्चनपुरमा एक लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

अन्य जिल्लाहरूमा बझाङबाट ६५ हजार, डोटीबाट ६४ हजार, डडेल्धुरा र बैतडीबाट ३४–३४ हजार, दार्चुलाबाट ३२ हजार, अछामबाट ३० हजार र बाजुराबाट १६ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij