वासिङ्टन डीसी : अमेरिकाको लस एन्जलसको एक अदालतले मेसोथेलियोमा क्यान्सरबाट मृत्यु भएकी एक महिलाको परिवारलाई झन्डै एक अर्ब डलर भुक्तानी गर्न जोनसन एण्ड जोनसनलाई आदेश दिएको छ ।
महिलाको मृत्युको लागि कम्पनीलाई जिम्मेवार ठहराउँदै अदालतले यो जरिवाना लगाएको हो । महिलाले जीवनभर कम्पनीको बेबी पाउडर प्रयोग गरेको दाबी परिवारले गरेको थियो । सोही पाउडरको प्रयोगले उनलाई क्यान्सर भएको आरोप मुद्दामा लगाइएको थियो । सोमबार अबेर लस एञ्जलसको अदालतले सो फैसला सुनाएको हो ।
कम्पनीले मे मूरेको परिवारलाई ९६ करोड ६० लाख डलर तिर्नु पर्नेछ । मुरेको मृत्यु २०२१ मा भएको थियो । सोही वर्ष उनको परिवारले ट्याल्क बेबी पाउडरमामा दुर्लभ क्यान्सर गराउने एस्बेस्टोस फाइबर भएको दाबी गर्दै जोनसन एन्ड जोनसनलाई मुद्दा हालेको थियो । अदालतले कम्पनीलाई क्षतिपूर्तिबापत १ करोड ६० लाख र दन्डात्मक क्षतिबापत ९५ करोड डलर तिर्न आदेश दिएको छ ।
आफ्नो फैसलामा जूरीले जोनसन एण्ड जोनसन मे मूरको क्यान्सरको लागि जिम्मेवार रहेको निष्कर्ष निकालेको छ । मूरले यो बेबी पाउडर शावर–टु–शावर पाउडरसँगै लगभग ८० वर्षसम्म प्रयोग गरेकी थिइन् । कम्पनीले २०१२ मा भ्यालेन्ट फर्मालाई १५ करोड डलरमा शावर–टू–शावर बेचेको थियो । यो निर्णय बेबी पाउडरसम्बन्धी मुद्दामा कम्पनीको पक्षमा आएको धेरैजसो फैसलाको पूर्ण विपरित भएको जोनसन एण्ड जोनसनका विश्वव्यापी कानुनी सल्लाहकार एरिक हासले भनेका छन् । यो निर्णयको विरुद्धमा पुनरावेदन अदालतमा जाने कम्पनील बताएको छ ।
बेबी पाउडरमा एस्बेस्टोसको आरोपमा मुद्दा लड्न कम्पनीले ३ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको छ । कम्पनी विरुद्ध ७० हजारभन्दा बढी मुद्दा अझै विचाराधीन छन् । पाउडरमा भएको एस्बेस्टोसले मेसोथेलियोमा र पाठेघरको क्यान्सर निम्त्याएको आरोप यी मुद्दामा लगाइएको छ । कम्पनीले २०२३ मा विश्वव्यापी बजारबाट पाउडर फिर्ता लिएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij