काठमाडौँ : प्यालेस्टिनी अतिवादी समूह हमासले बन्धक बनाएको नेपाली विद्यार्थी विपिन जोशीको भिडिओ सार्वजनिक भएको छ।सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रममार्फत इसराइल पुगेका विपिनलाई २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएर गजा पुर्याएको थियो।
त्यसयता पहिलोपटक विपिन जोशी आफै बोलेको भिडिओ सार्वजनिक भएको हो। इसराइली मिडियाहरुले गएराति सार्वजनिक गरेको उक्त भिडिओमा विपिनले आफ्नो परिचय मात्रै दिएका छन्।
'म विपिन जोशी। म नेपालबाट हुँ। २३ वर्षको भएँ। म २५ दिनअघि मात्रै इसराइल आएको थिएँ। लर्न एन्ड अर्न कार्यक्रममा आएको हुँ। म विद्यार्थी हुँ,' झन्डै ३० सेकेन्डको भिडिओमा विपिनले यति मात्रै भनेका छन्।
इसराइली अनलाइन जेरुसलेम पोस्टका अनुसार विपिनको सार्वजनिक भएको उक्त भिडिओ दुई वर्ष पुरानो हो। उक्त भिडिओ विपिन बन्धक भएर गजा पुर्याइएकै वर्षको नोभेम्बरमा खिचिएको थियो।
जेरूसलेम पोस्टका अनुसार उक्त भिडिओ इसराइलले नै विपिनको परिवारलाई दिएको थियो। इसराइलले त्यतिबेला भिडिओ सार्वजनिक नगर्नू भनेको थियो। अहिले अनुमति दिएपछि परिवारले नै विपिनको भिडिओ सार्वजनिक गरेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij