काठमाडौंँ : कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, धीरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङदेल मोफसल यात्रामा छन् । फिल्म ‘माइतीघर’को उपत्यका बाहिरका दर्शकको प्रतिक्रिया बुझ्न उनीहरु निर्माता रोहित अधिकारी र निर्देशक मिलन तामाङ सहित मोफसल पुगेका हुन् ।
मोफसल यात्रा उनीहरूले नेपालगञ्जबाट थालेका छन् । मंगलबार नेपालगञ्जकै क्यूएफएक्स बागेश्वरीमा हलमा दर्शक भेट्दै फिल्मको प्रतिक्रिया समेत लिएका छन् । फिल्मका कलाकार आफ्ना अगाडि भेट्दा दर्शकले पनि कलाकारसँग तस्बिर र सेल्फी खिचेका थिए ।
नेपालगञ्जका दर्शकले फिल्मको बारेमा एकदमै राम्रो प्रतिक्रिया दिएको निर्माता रोहित अधिकारीले बताए । दर्शकले फिल्मको अर्काे सिक्वेल समेत माग गरेको उनको भनाइ छ । दर्शक भेट्नु भनेको आफ्नो अभिनयको के कस्तो छ त्यो थाहा पाउनु भएको कलाकार केदार घिमिरेले बताए । ‘दर्शकबाट मैले अभिनय प्रतिक्रियाको अलवा आफुले सुधार गर्नुपर्ने विषय पनि लिएको छु,’ घिमिरेले भने ‘यसले आगामी दिन अगाडि बढ्न मद्दत मिल्छ ।’
कलाकार टोली नेपागञ्जबाट दाङ, बुटवल र चितवन हुँदै काठमाडौँ फर्किनेछ । फूलपातीबाट देशभर प्रदर्शनमा आएको फिल्म सोमबारबाट दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मले अहिलेसम्म कति ब्यवसाय गर्यो त्यो भने सार्वजनिक गरिएको छैन ।
मिलन तामाङको निर्देशन रहेको फिल्ममा केदार प्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायत कलाकारको अभिनय छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij