नयाँ दिल्ली : जयपुर–अजमेर राजमार्गको दुडु नजिकैको सानवर्दा क्षेत्रमा मंगलबार राति एउटा भयानक आगलागी भयो । एलपीजी सिलिन्डरले भरिएको ट्रक ठोक्किएपछि ट्रक आगोको ठुलो गोलामा परिणत भयो ।
ट्रकभित्र रहेका सिलिन्डर पड्किने क्रम लगभग तीन घण्टासम्म जारी रह्यो । सिलिन्डर एक एक गरेर जल्दै विस्फोट हुँदै गए र ट्रक पूर्ण रूपमा भग्नावशेषमा परिणत भयो । यो भयानक दुर्घटनाको सीसीटीभी फुटेज बाहिर आएको छ, जसमा ट्रक केही सेकेन्डमै आगोको लप्कामा डुबेको देखाइएको छ ।
एलपीजी सिलिन्डरले भरिएको ट्रक अवैध सडक किनारको मोडबाट मोड्न खोजिरहेको थियो । त्यहीबेला पछाडिबाट तीव्र गतिमा आएको ट्याङ्करले ठक्कर दियो । सिलिन्डरले भरिएको ट्रकमा तुरुन्तै आगो लाग्यो र सिलिन्डरहरू विस्फोट हुन थाले ।
रातको सुनसान समयमा २०० सिलिन्डरको विस्फोटको आवाज १० किलोमिटर टाढासम्म सुनिएको थियो । यस क्रममा नजिकैका होटलहरू ध्वस्त भए र सडकको दुवै छेउमा लगभग ७ किलोमिटर ट्राफिक जाम भयो । विस्फोट यति शक्तिशाली थिए कि सिलिन्डरहरू टुक्रा टुक्रा त भए नै सारा सिलिन्डरहरू उछिटिएर नजिकैका खेतहरू र होटलसम्म पुगे ।
फुटेजमा मानिसहरू आफ्नो ज्यान जोगाउन भागिरहेको देखाइएको छ । यस घटनामा एक जनाको मृत्यु भएको छ भने ५ सवारी साधन नष्ट भएका छन् । घटनाबारे सूचना पाउने बित्तिकै दमकल घटनास्थलमा पुगेका थिए । तर विस्फोटका कारण आगो निभाउन गाह्रो भयो । आगो यति भयानक थियो कि ५ वटा सवारी साधन जलेर पूर्ण रूपमा ध्वस्तै भए ।
दुर्घटनामा एक जना जिउँदै जलेर नष्ट भए । ती व्यक्तिको कङ्काल मात्र भेटियो । मृतकको पहिचान अझै खुल्न सकेको छैन । यस घटनामा अन्य कयौँ मानिस जलेका छन् । दुर्घटनाग्रस्त ट्रकमा कुल ३३० सिलिन्डर रहेको र त्यसमध्ये लगभग २०० वटा विस्फोट भएको बताइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij