Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

बसका सहचालकले सिडियो नचिनेपछी

बसका सहचालकले सिडियो नचिनेपछी

दोलखा : चाडपर्वको अवसरमा तोकिएभन्दा बढी भाडा लिने सवारी साधनमाथि दोलखामा कडाइका साथ कारबाही सुरु गरिएको छ। यात्रुहरूको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालको नेतृत्वमा सोमबार बिहानदेखि सादा पोशाकमा विशेष अनुगमन गरिएको हो।

अनुगमन टोलीमा प्रजिअ दाहालसँगै जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतो, सशस्त्र प्रहरी बल दोलखाका प्रमुख सञ्जय अधिकारी, अनुसन्धान कार्यालयका प्रमुख धिरज बानिया र ट्राफिक प्रहरी प्रमुख ठाकुर भट्टराई सहभागी थिए। टोलीले यात्रु बनेर सार्वजनिक सवारीसाधनमा यात्रा गर्दै गाडी भाडा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा काठमाडौंसम्मको भाडाबारे सोध्दा एक गाडीका सहचालकले प्रति यात्रु एक हजार रुपैयाँ लिने गरेको बताएका थिए। सहचालकले सोधपुछ गर्ने व्यक्ति प्रमुख जिल्ला अधिकारी भएको नचिनेपछि बढी भाडा लिएको स्वीकार गरेका थिए।

पछिल्लो अनुगमनमा सबै यात्रुबाट समान दरमा बढी भाडा लिइएको पाइएको थियो। त्यसपछि तत्काल बढी भाडा यात्रुलाई फिर्ता गराइएकाे र सम्बन्धित सवारी साधनलाई ट्राफिक प्रहरीले जरिवाना काटेको प्रजिअ दाहालले जानकारी दिनुभयो।

ट्राफिक प्रहरी प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार, हालसम्म एक दर्जनभन्दा बढी बस, ईभी र सुमो सवारीसाधनलाई कारबाही गरिएको छ।
चरीकोट–काठमाडौँ मार्गमा तोकिएको सामान्य भाडा ५३० रुपैयाँ, सुपर बसका लागि ६५० रुपैयाँ र ईभी/सुमोका लागि ७५० रुपैयाँ तोकिएको छ। तर केही सवारीले एक हजार रुपैयाँसम्म असुलेको उजुरी आएको थियो।

चाडपर्वका अवसरमा यात्रुहरूलाई सहज यात्रा सुनिश्चित गर्नका लागि विभिन्न स्थानमा छड्के चेकपोष्ट र यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। कुनै समस्या परेमा तुरुन्तै सम्पर्क गर्न सकिने व्यवस्था पनि मिलाइएको दोलखा प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij