फिक्कल : इलाममा अविरल वर्षासँगै गतरातिको पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ। पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीनजनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको संख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका–६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा थेवे, माईजोगमाई–३ का ८२ वर्षीय बर्मालल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङमी र १४ वर्षीया प्रकृति सोङमी रहेका छन्।
यसैगरी फाकफोकथुम गाउँपालिका–३ का २८ वर्षीय सुरेश लिम्बू, सूर्योदय नगरपालिका–१ की ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया रस्मिका क्षेत्री, इलाम नगरपालिका–६ का २३ वर्षीय समीर देउजाली, प्रवीण गुरुङ र विराज पाख्रिन तामाङले पहिरोमा परी ज्यान गुमाएका छन्।
यसैगरी देउमाई नगरपालिका–५ का २२ वर्षीय रोशन लिम्बू, २२ वर्षीया बेबिसा राई, ३० वर्षीय दीपक लिम्बू, २७ वर्षीया ऋषिका लिम्बू, १० वर्षीया दीपिस्का लिम्बू, देउमाई–३ का २८ वर्षीय कृष्ण मगर र माई नगरपालिका–५ की ८ वर्षीया प्रिन्सिखा मगरको ज्यान गएको छ।
पहिरोमा परी माङसेबुङ गाउँपालिका–१ का ५७ वर्षीया कृष्णमाया लिम्बू र ५० वर्षीया माया लिम्बू, सन्दकपुर गाउँपालिका–१ का ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा सेढाईं र ४८ वर्षीया तारादेवी राईको ज्यान गएको छ। पहिरोमा विभिन्न कामले इलाम आएका जिल्लाबाहिरका बासिन्दाले पनि ज्यान गुमाएका छन्।
यसरी ज्यान गुमाउनेमा झापाको अर्जुनधारा नगरपालिका–६ की ३२ वर्षीया अनु तामाङ र तीन वर्षीय आवास दनुवार, पाँचथरको फाक्तेपका नौ वर्षीय सौजन लिम्बू र ११ वर्षीय सौगात लिम्बू र मिक्लाजुङ गाउँपालिका–६ की १७ वर्षीया नेहा राई रहेका छन्। यसैगरी दोलखा घर भएका ४५ वर्षीय दीप बस्नेत, ४४ वर्षीया भवानी बस्नेत र १२ वर्षीया दिव्या बस्नेतको मृत्यु भएको छ।
इलाम नगरपालिका–६ का ४८ वर्षीय महेन्द्र लिम्बू पहिरोमा बेपत्ता भएका र उनको खोजी भइरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए। क्षतिको विवरण संकलन भइरहेको पनि उनले जानकारी दिए। “सबैतिरबाट क्षतिको विवरण आउने क्रम जारी छ”, कोइरालाले भने, “सडक अवरुद्ध, विद्युत् र इन्टरनेटमा समस्याका कारण केही असहज छ, तथापि हामी लागिरहेका छौँ।”
सांकेतिक तस्बिर
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij