काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राकृतिक विपद्मा पानीजन्य रोग देखिने भएकाले सचेत रहन आग्रह गरेको छ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्राकृतिक विपद्मा तत्काल चोटपटक लाग्ने र अन्य भौतिक क्षति देखापरे पनि त्यसपछि पानीजन्य रोग देखिने भएकाले त्यसबाट बच्न आग्रह गरेका हुन्।
उनका अनुसार प्राकृतिक विपद्का वेला पानी प्रदूषित भई निम्त्याउन सक्ने पानीजन्य रोग पखाला, हैजा तथा डेंगु, मलेरिया पनि बढ्न सक्ने हुनाले सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको हो। त्यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान अनुरोध गरिएको छ।
यसैगरी हाल प्राकृतिक विपद्मा परेकाहरूले राम्रोसँग खान, बस्न पाउने अवस्था नबने पछि खानासम्बन्धी रोग, आँखा पाक्ने रोग र मानसिक रोग पनि देखिने डा. बुढाथोकीको भनाइ छ।
प्राकृतिक विपद्पछि मन्त्रालयले स्वास्थ्य स्वयंसेविका‚ स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिमार्फत शुद्ध उमालेको पानी पिउन र सरसफाइमा ध्यान दिन आवश्यक सचेतना फैलाउन आग्रह गरिएको उनले जानकारी दिए।
मन्त्रालयले आपत्कालीन अवस्थामा आईपरी स्वास्थ्य संस्थामा जानु परेमा तालिमप्राप्त चालक र स्वास्थ्यकर्मीसहितको एम्बुलेन्सको व्यवस्था रहेकाले हटलाइन १०२ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
यसैगरी आपत्कालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याबारे जानकारी आवश्यक परेमा १११५ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
मन्त्रालयले निरन्तर वर्षाका कारण पहिरो र तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij