बरहथवा (सर्लाही) : पछिल्ला २४ घण्टामा सर्लाही जिल्लामा अत्यधिक वर्षा भएपछि बाढी र डुबानको जोखिम बढेको छ। बसवरिया गाउँपालिका–मनुसमारा क्षेत्रमा मात्रै २२३.६ मिलिमिटर वर्षा मापन गरिएको जल मापन स्टेशनले जनाएको छ।
लगातारको भारी वर्षाका कारण साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह तीव्र रूपमा बढेको छ। मौसम पूर्वानुमान अनुसार वर्षा अझै नरोकिने भएकाले जिल्लाका विभिन्न स्थानमा बाढी र डुबानको जोखिम उच्च बनेको छ।
सदरमुकाम मलङ्गवा क्षेत्रमा पनि २१५.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। यससँगै जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना जारी गर्दै होचो स्थानमा बसोबास गर्ने, विशेषगरी बागमती, लखन्देही, झिम र बाँके खोलाको किनारमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार सम्भावित जोखिम न्यूनीकरणका लागि प्रशासन सतर्क अवस्थामा छ।
वर्षाको मात्रा बढेसँगै बागमती सिँचाइ ब्यारेजका सबै ३५ ढोका खोलिएका छन्। आयोजनाका इन्जिनियर अभिमन्यु चौधरीका अनुसार सर्लाही र रौतहट दुवैतर्फको च्यानल नहर बन्द गरेर पानी खोलातर्फ बगाइँदैछ।
रौतहटको पधेरेदोभानस्थित जल सतह मापन केन्द्रका अनुसार अहिले बागमती नदीको पानी सतह ५.०५७ मिटर पुगेको छ। यो सतह ६ मिटरमा खतरा तह मानिने र ६.८ मिटरमा अति जोखिम तह हुने भएकाले पानीको बहाव बढ्दै गएपछि ड्याम र आसपासका संरचनामा क्षतिको जोखिम बढेको इन्जिनियर चौधरीले जानकारी दिए।
उनका अनुसार सम्भावित क्षति न्यूनीकरणका लागि सिँचाइ आयोजनाले आवश्यक उपकरण तयारी अवस्थामा राखेको छ र आवश्यक परेमा माथिल्लो सेफ्टी ड्याम फुटाएर ब्यारेज संरचना सुरक्षित गर्ने योजना बनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij