Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

पाँचथर बोलेरो दुर्घटना : ६ जनाको मृत्यु, ६ जना घाइते (पहिचानसहित)

पाँचथर बोलेरो दुर्घटना : ६ जनाको मृत्यु, ६ जना घाइते (पहिचानसहित)

पाँचथर :  तमोर कोरिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने छ जनाको पहिचान खुलेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरान जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्याह्न कुम्मायक–३ कात्तिकेमा सडकबाट करिब ३०० मिटर तल झरेर दुर्घटना भएको थियो । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा मोरङको उर्लाबारी नगरपालिका–८ की २८ वर्षीया मनिषा कार्की, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ की २९ वर्षीया युना तामाङ, ३३ वर्षीय धनकुमार चोङबाङ र ३२ वर्षीय अभिषेक लिम्बू, मेरिङदेन गाउँपालिका–२ का ३३ वर्षीय विनोद लङ्वा लिम्बू र मेरिङदेन गाउँपालिका–४ का २१ वर्षीया गीता हाङगाम छन् ।

घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमा मेरिङदेन–५ का २२ वर्षीय महेश लिम्बू र २५ वर्षीय विमल लिम्बू, मिक्वाखोला गाउँपालिका–४ का २५ वर्षीया मनु साँवा लिम्बू, सोही स्थानका सन्तोष लिम्बूका सात वर्षीय छोरा अनिश लिम्बू र ३० वर्षीय संजोहाङ लिम्बू तथा सुनसरीको इटहरी उपमहानगरपालिका–७ का ३५ वर्षीय महेश गुरागाइँ रहेका छन् । बोलेरो आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट झरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij