Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

गोरखा दरबारबाट फूलपातीसहितको डोली काठमाडौँ हनुमान ढोका दरबारतर्फ प्रेषण

गोरखा दरबारबाट फूलपातीसहितको डोली काठमाडौँ हनुमान ढोका दरबारतर्फ प्रेषण

गोरखा :  बडादसैँअन्तर्गत सातौँ दिन फूलपातीका अवसरमा गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। आज बिहान ७ः३० बजे सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी डोलीमार्फत फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए।

बा २ झ ३८८२ नम्बरको सरकारी सवारीमा राखेर फूलपाती काठमाडौँ पठाइएको हो। सुसारेहरूले फूलपातीसहितको डोली बोकेर ल्याई गाडीमा राखेर बिदाइ गरेका थिए। गोरखा दरबार परिसरमा बाजागाजासहितको ¥याली निकालेर फूलपाती बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले बताए।

गोरखाबाट पठाइएको फूलपाती आजै साँझ काठमाडौँको हनुमान ढोका दरबारमा हर्षबढाइका साथ भित्र्याइने प्रचलन रहेको छ। गोरखाका राजा पृथ्वीनारायण शाहले हनुमान ढोका दरबारबाट राजकाज सञ्चालन गरेपछि यो परम्परा निरन्तरता पाउँदै आएको हो।

गोरखा दरबारको फूलपातीको बिदाइ कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरप्रमुख कृष्णबहादुर रानामगरलगायतको उपस्थिति थियो। गोरखा दरबारकै दसैँघरमा पनि आज साँझ विशेष पूजाआजासहित फूलपाती भित्र्याइने परम्परा छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij