Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

हराउँदै घर पोत्ने चलन

हराउँदै घर पोत्ने चलन

धनकुटा: नेपालीहरुको महान चाड बडा दशैं सुरु भइसकेको छ। दशैमा नयाँ लुगा लगाउने, मिठो खाने तथा मान्यजनबाट आशिर्वाद लिने गरिन्छ। तर, दशै सुरु हुनु अगाडि वा स्रु भएपछि घर सिगार्ने काम सुरुमा गर्ने चलन रहेको छ। दशैमा रातो माटो सहित खोटो र कमेरोले घर रंगाउने प्रचलन भएपनि पछिल्लो समय हराउँदै गएको छ। परम्परागत शैलीका ढुंगा, माटो तथा काठ प्रयोग गरी बनाइएका घरमा ती वस्तको प्रयोग हुने गर्दथ्यो। पछिल्लो समय सिमेन्ट प्रयोग गरेर घर निर्माण हुन थालेपछि रातो माटो‚ कमेरोले रंगाउने चलन हराउँदै गएको हो। केही वर्ष अघिसम्म दशैंअघि धनकुटामा घर रंगाउनका लागि यहाँका चिम्टिया र रातो माटो भएका ठाउँमा ठूलै संख्यामा सर्वसाधारण माटो लिन जान्थे। माटोले लिपपोत गरेपछि घर चिटिक्क हुने घर अहिले देखिन छोडेको छ। पछिल्ला समयमा सिमेन्टको प्रयोग बढ्न थालसँगै माटो, कमेरो र खोटोको विकल्पमा आधुनिक रङको प्रयोग बढेको छ।

रातो माटो र कमेरो घरको भित्ता रंगाउन प्रयोग हुने र खोटो पकाएर झ्याल ढोकामा लगाउने गरिन्थ्यो। विशेष गरी छिप्पिएको सालको लोप्रा ताछेर पानीमा पकाएर कालो रङको खोटो तयार गरिन्छ। सालको लोप्राबाट बनाइएको खोटो वर्षमा एक पटक झ्याल ढोकामा लगाएपछि धमिराले नखाने तथा धुल्याहा नलाग्ने धनकुटा नगरपालिका वडा नं. २ का ज्ञानबहादुर थापाले बताउनु भयो।

विगतमा घरमा रातो माटो, खोटो र कमेरोले लिपपोत गर्नु दशैं तिहारसँगै जोडिएको संस्कृतिको अर्को पाटो जस्तै बनेको भएपनि आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएपछि अहिलेको पुस्तालाई भने ती कुराको ज्ञान हुन नै छाडेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij