काठमाडौँ: राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार तथा छठलगायत चाडपर्वको सार्वजनिक बिदामा पनि आफ्ना कार्यालय खुला रहने जनाएको छ।
आयोगका अनुसार सार्वजनिक बिदाको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उजुरी दर्ता गर्ने र आकस्मिक घटनामा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। यस अन्तर्गत आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन ललितपुरसहित प्रदेश र शाखा कार्यालयहरू समेत खुला रहनेछन्।
मानव अधिकार उल्लङ्घनका घटना भएमा नजिकको कार्यालयमा तत्काल जानकारी दिन आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ। चाडपर्वका समयमा सार्वजनिक आवतजावतमा कठिनाइ, अपराध, महँगी र कालोबजारी बढ्ने सम्भावना हुने भएकाले शान्ति–सुरक्षा र सेवा प्रवाह चुस्त बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने आयोगको भनाइ छ।
आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले शान्ति सुरक्षालाई मजबुत बनाउन र सेवा प्रवाह सहज बनाउन सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij