Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

गलकोट–३ मा झण्डै २ करोड लागतमा वडा भवन निर्माण, दशैँपछि सेवा प्रवाह हुने

गलकोट–३ मा झण्डै २ करोड लागतमा वडा भवन निर्माण, दशैँपछि सेवा प्रवाह हुने

बागलुङ  : सहरी शासकीय क्षमता विकास कार्यक्रममार्फत सघन सहरी तथा भवन निर्माण आयोजनाले गलकोट नगरपालिका–३ को वडा भवन निर्माण सम्पन्न गरेको छ । अबदेखि भाडाको घरबाट सेवा दिँदै आएको वडा कार्यालय आफ्नै भवनमा सर्ने तयारीमा छ । वडा अध्यक्ष फमबहादुर खत्रीका अनुसार भित्री सजावटको काम सकिएलगत्तै दशैँपछि नयाँ भवनबाट सेवा सुरु गरिनेछ ।

करिब २ करोड लागतमा बनेको भवन गलकोट नगरभित्र सञ्चालन भइरहेका १० करोड बराबरका विकास आयोजनामध्ये एक हो । गत आर्थिक वर्षदेखि सुरु भएका एक दर्जन आयोजना अन्तर्गत यो वडा भवन सबैभन्दा ठूलो योजना भएको वडा अध्यक्ष खत्रीले बताए ।

गलकोटमा सडक, आयआर्जनका कार्यक्रम, सार्वजनिक शौचालय र अन्य आधारभूत पूर्वाधार विस्तारसमेत एकैसाथ सञ्चालन भइरहेका छन् । वडा नं. १ र २ जोड्ने सडकलाई चौडा र व्यवस्थित बनाएपछि स्थानीयले राहत पाएका छन् भने नरेठाँटीदेखि दुदिलाभाटी जोड्ने सडकले किसानका तरकारी, दूध र अन्य कृषि उत्पादन सहजै बजारसम्म पुर्‍याउन मद्दत पुर्‍याएको छ ।

आयोजनाका प्रमुख कृष्णकुमार महर्जनका अनुसार गलकोटलाई सहरी क्षेत्रको नमूना रूपमा विकास गर्ने लक्ष्यसहित यो योजना अघि बढाइएको हो । ‘‘भवन मात्र होइन, व्यवस्थित सडक, ढल निकास र स्थानीय आयआर्जनमा जोड दिने गरी नगरलाई सहरी स्वरूपमा रुपान्तरण गर्ने हाम्रो उद्देश्य हो,’’ महर्जनले बताए ।

नगरपालिकाले चालु वर्षको फागुनभित्र सबै पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट