काठमाडौँ : गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे रणनीति बनाउन नेपाली कांग्रेसले असोज २६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले अस्पतालमै रहँदै बैठक आह्वान गरेका हुन् ।
भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीद्वारा आक्रमणमा परेका देउवा र उनकी पत्नी, कांग्रेस नेतृ डा. आरजु राणा देउवा हाल सैनिक अस्पतालमा उपचाररत छन् । सोहीबीच उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गरी बैठक बोलाउन निर्देशन दिइएको स्रोतले जनाएको छ ।
देउवाको कार्यकाल आगामी मंसिरमा सकिँदै भएकाले महाधिवेशनको तयारी गर्नुपर्ने उनको चाहना रहेको बताइन्छ । इतर समूहका नेता डा. शेखर कोइरालाले समेत नियमित महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । तर, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निकट समूहले विशेष महाधिवेशनको आवश्यकता औंल्याउँदै हस्ताक्षर संकलन सुरु गरेको थियो, यद्यपि अहिले स्थगित गरिएको छ ।
कांग्रेस विधानअनुसार देउवा पुनः सभापति बन्न पाउने छैनन् । यसैले देउवाको ‘सम्मानजनक बहिर्गमन’ को बाटो खोजिनुपर्नेमा धेरै नेताहरू एकमत देखिएका छन् ।
तर, नेतृत्व परिवर्तनको प्रक्रियामा भने फरक धारणा छ । देउवासहित संस्थापन पक्षले नियमित महाधिवेशनमै जानुपर्ने बताइरहेका छन् भने इतर समूहका केही नेताहरूले कार्यवाहक सभापति तोकेर आगामी निर्वाचनको तयारीमा होमिनुपर्ने धारणा राखेका छन् ।
उपसभापति खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि र डा. शेखर कोइराला पक्षीय नेताहरू कार्यवाहक तोकेर अघि बढ्नुपर्ने बताइरहेका छन् । अर्कोतर्फ, थापा–शर्मा समूह निकट युवाहरूले विशेष महाधिवेशन माग गरिरहेका छन् भने डा. कोइराला निकट युवाहरू नियमित महाधिवेशनकै पक्षमा उभिएका छन् ।
यसरी कांग्रेसभित्र नेतृत्व परिवर्तनमा सहमति भए पनि प्रक्रिया कुन बाटोबाट अघि बढ्ने भन्ने विषयमा तीव्र मतभेद देखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij