Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायो

‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायो

काठमाडौँ : ऐतिहासिक लोक कल्याणकारी सामाजिक संस्था परोपकार संस्थाको ७९ औँ स्थापना दिवसको अवसरमा ‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कंसाकार’ नामक पुस्तकको शुक्रबार लोकार्पण गरिएको छ ।

प्रा हरिप्रसाद पराजुलीद्वारा लिखित उक्त पुस्तकमा परोपकार संस्थाका संस्थापक दयावीरसिंहले २००१ सालतिर हैजाको महामारी फैलिँदा गरेको मानवीय सेवा, रक्तदान अभियानको सञ्चालन, हाइस्कुल, अनाथालय तथा प्रसूतिगृहको स्थापना, दान विभाग तथा औषधालयको सञ्चालनजस्ता जीवनका महत्वपूर्ण घटनाक्रमहरु समेटिएका छन् ।

स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले पुस्तकका लेखक प्रा पराजुली र प्रकाशनमा सहयोग गर्ने गोपालकृष्ण मानन्धरलाई सम्मानपत्र प्रदान गरे ।

परोपकार संस्थाका अध्यक्ष हितकरवीर कंसाकारले परोपकार र दयावीरसिंह पर्यायवाची भएको बताउँदै भ्रष्टाचारविरुद्ध अभियान थाल्ने वर्तमान सरकारबाट संस्थाको हिसाबकिताबको निष्पक्ष छानबिन भइदिए खुसी हुने बताए । बाल विकास समाजका सल्लाहकार शरद् शर्माले विख्यात समाजसेवी दयावीरसिंहको नाउँमा एक बृहत् पुरस्कार स्थापना गनुपर्ने खाँचो औँल्याए ।

संस्थाका कोषाध्यक्ष उत्तमलाल जोशीका अनुसार परोपकार संस्थाले आर्थिक वर्ष २०८१/८२ मा रु दुई करोड ५० लाख आम्दानी र रु दुई करोड छ लाख खर्च गरेको छ । संस्थाले दान विभाग सञ्चालन, दुर्गम जिल्लाहरुमा औषधि वितरण, प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा सहयोग, एम्बुलेन्स, अनाथालय तथा चिकित्सालय सञ्चालन गर्दै आइरहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij