Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

जेनजी आन्दोलनबाट सुदूरपश्चिमकाे मुख्यमन्त्री कार्यालयमा मात्रै करिब १० करोडको क्षति

जेनजी आन्दोलनबाट सुदूरपश्चिमकाे मुख्यमन्त्री कार्यालयमा मात्रै करिब १० करोडको क्षति

काठमाडौँ : गत भदौ २४ गते देशव्यापी रूपमा चर्किएको जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबैभन्दा बढी भौतिक क्षति भएको छ ।प्रारम्भिक अनुमान अनुसार मुख्यमन्त्री कार्यालयमा मात्रै ९ करोड ७४ लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको छ ।

यो क्षतिमा भवनको संरचनात्मक मूल्याङ्कन भने समावेश गरिएको छैन । आन्दोलनकारीहरूले मुख्यमन्त्री कार्यालयको तीनतले भवनभित्र रहेका सम्पूर्ण सामग्रीमा आगजनी गरेका थिए । जसका कारण मुख्यमन्त्रीको कार्यकक्ष, मन्त्रिपरिषद् बैठक हल र सभाकक्ष पूर्ण रूपमा ध्वस्त भएका छन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार, आगजनीमा मुख्यमन्त्रीले प्रयोग गर्ने २ करोड ५० लाख मूल्य बराबरको ल्याण्डक्रुजर गाडीसहित ७ वटा जिप र १६ वटा मोटरसाइकल पूर्ण रूपमा जलेका छन् ।

कार्यालयका सूचना अधिकारी जगदीश जोशीले दिएको जानकारीअनुसार आगजनीबाट कार्यालयका सबै ल्यापटप, कम्प्युटर, सोफा, एसी, दराज लगायतका जिन्सी तथा फर्निचर सामग्रीहरू जलेर नष्ट भएका छन् ।यो घटनापछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका सरकारी संरचनाहरूको अवलोकन गरेका छन् ।

उनले क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा एकजुट हुन सबैलाई आह्वानसमेत गरेका छन्।कैलाली जिल्लामा मात्रै प्रदेश तथा सङ्घीय सरकार मातहतका १०३ वटा सरकारी कार्यालयमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij