विज्ञहरुका अनुसार सोसल मिडियामा सामाग्री सिर्जना गर्ने करिअर आकर्षक देखिएता पनि यसले हाम्रो जीवनशैलीले गम्भीर असर ल्याउन सक्दछ । लाखौं करोडौं फलोअर्स भएका सोसल मिडिया सेलिब्रेटीको ट्रेण्डिङ पेशाले उनीहरुको शरीरको रुपरंगलाई प्रभावित गर्दछ ।विज्ञहरुका अनुसार एल्गोरिदमको पछि लाग्नु, सौन्दर्य मानकको दबाब तथा निरन्तर कन्टेन्ट सिर्जनाले शरीर र मन दुवैमा नकारात्मक प्रभाव पार्नसक्छ ।
यो कुरालाई प्रष्ट पार्नका लागि क्यासिनो डट ओआरजीले एवा नामको भविष्यको एउटा काल्पनिक कन्टेन्ट क्रिएटरको प्रारुप तयार पारेको छ । यो वर्षौंसम्मको कन्टेन्ट क्रियसनबाट सिर्जित जटिलताहरुको डिजिटल प्रतिनिधि हो ।
जसरी सन् १८९० मा ओस्कार वाइल्डले लेखेको प्रसिद्ध थ्रिलर उपन्यास द पिक्चर अफ डोरियन ग्रे ले सोसल मिडिया युगका डरलाग्दो वास्तविकतालाई प्रतिनिधित्व गर्दछ, त्यसैगरी एवाले कन्टेन्ट क्रियसनमा लिप्त सर्जकहरुको भविष्यको शारीरिक विकारलाई देखाउँदछ ।
विज्ञ भन्छन् : लस भेगासको अन्तहीन ब्राण्ड यात्रादेखि फिल्टर र फोटोशूटको दैनिक भागदौडसम्मले उनीहरुको जीवनशैलीमा गहिरो छाप छाडेको छ ।चिकित्सा अनुसन्धान अनुसार एवाको रुपरंग प्रभावशाली मानिसहरुका आनीबानीको परिणाम हो ।
काल्पनिक पात्र एवाको भयावह रुप
यस एआई सेलिब्रेटीको गतिहीन, स्क्रिन संतृप्त जीवनशैली वास्तवमा उसैमाथि भारी पर्नेछ । उदाहरणका लागि लामो समयसम्म सोसल मिडिया तथा स्मार्टफोनको प्रयोगका साथै रिंग लाइटको तल घण्टौँसम्म पोज दिँदा एवाको काँध गोलो भएको छ । त्यसैगरी टाउको अगाडितर्फ झुकेको छ र गर्धनमा सधै पीडा महसुस हुन्छ । यस्तो अवस्थालाई टेकनेक भन्दछन् ।
इन्टरडिसिप्लिनरी न्यूरोसर्जरी पत्रिकामा शोधकर्ताहरुले लेखेको रिपोर्ट अनुसार पटक पटक स्मार्टफोनको प्रयोगले गर्धनको पोस्चर असन्तुलित हुनसक्छ वा मांशपेशी तथा हड्डी (मस्कुलोस्केलेटल) विकार विकसित हुनसक्छ ।
गर्धनको अगाडितर्फ झुकेको अवस्थाले गर्दा गर्धन र मेरुदण्डको दुखाइ सिर्जना गर्दछ । साथै यसले मेरुदण्ड आसपासका क्षेत्रहरुमा मांशपेशीमा दबाब पैदा गर्न सक्दछ । यो वास्तवमा चिन्ताजनक अवस्था हो ।बीबीसीका अनुसार सोसल मिडिया इन्फ्लुएन्सरहरुले हप्तामै ९० घण्टासम्म काम गर्दछन् र त्यसको अधिकांस समय आफ्नो फोनमै बिताउँछन् ।
भविष्यको अविश्वसनीय विज्ञान प्रविधिको विकाससँग सम्बन्धित कथानक भएको थ्रिलर फिल्म द सब्सेन्टजस्तै सोसल मिडिया सेलिब्रेटीहरुको सौन्दर्यको खोजीले उनीहरुलाई उल्टै कुरुपतामा धकेलिरहेको छ ।
क्यासिनो डट ओआरजीका अनुसार एआई पात्र एवालाई छालाको जलन, सुन्निने तथा छालामा दागधब्बा निस्कने जस्ता समस्या देखिएका छन् । दैनिक रुपमा पटक-पटक अनेक खालका मेकअप लगाउने, बारम्बार छाला सुन्दर बनाउने भन्दै ब्यूटी प्रडक्टहरु लगाउने र लगातार कस्मेटिकको प्रयोग गर्दा यस्ता समस्या उत्पन्न हुन्छ ।
आँखामा पनि असर
सोसल मिडियामा पोस्ट गर्नका लागि तयार पारेका सामग्रीहरु सम्पादन तथा लाइभ प्रशारण गर्ने सिलसिलामा व्यतित गरिएको लम्बेतान समयले आँखामा पनि ठूलो असर पार्नसक्छ । मेडिकल जगतमा यसलाई डिजिटल आई स्ट्रेन वा कम्प्युटर भिजन सिन्ड्रोम भनिन्छ ।
यो समस्याका लक्षणहरुमा आँखा रातो हुनु, सुख्खा हुनु तथा दृष्टि धमिलो हुनुदेखि आँखाको मुनि सुन्निएको जस्तो वा डार्क सर्कल बस्नु लगायतका हुन्छन् ।
अत्यधिक स्क्रिन टाइमका कारण आँखामा उत्पन्न हुने यस्ता दुष्प्रभावलाई कम गर्नका लागि स्क्रिनमा काम गर्नेहरुले २०-२०-२० को नियम पालना गर्नुपर्छ । यसमा हरेक २० मिनेट कम्प्युटर वा फोनको स्क्रिनमा आँखाले हेरेर बिताएसँगै २० सेकेण्डका लागि २० फिटको दूरीमा रहेको कुनै पनि चिजलाई हेर्नुपर्छ र आँखालाई केही बेरका लागि स्क्रिनबाट बाहिर निकाल्नुपर्छ ।
लगातार सोसल मिडिया फीड स्क्रोल गर्ने तथा फ्यानहरुसँग दिनरात कुराकानी गरिरहने बानीले निद्रामा असर गर्नसक्छ । किनकि स्क्रिनबाट निस्कने निलो प्रकाशले सरीरमा एड्रेनलाइन हर्मोनको उत्सजर्नमा प्रभाव पार्ने र जैविक घडीमा असर पार्ने हुन्छ ।
फिलरका कारण विकृत हुँदै अनुहार
सोसल मिडिया इन्फ्लुएन्सरले राम्रो अनुहार देखाउनका लागि अनुहारमा वर्षौँसम्म फिलर लगाउँदा त्यसले अनुहार असमान तथा विकृत बन्दछ । स्नापच्याट डिस्मर्फिया तथा पिलो फेस सिन्ड्रोम जस्ता ट्रेण्डबाट प्रेरित भएर यस्ता कस्मेटिक प्रयोग गर्नाले गाला सुन्निने, चुच्चो परेको चिउँडो तथा ओँठ बन्ने र अनुहारको कृत्रिम र कुरुप स्वरुप सिर्जना हुने जोखिम रहन्छ ।साथै स्टाइलिस बन्नका लागि कपालमा अत्यधिक बाह्य सामग्री तथा रसायनको प्रयोगले कपाल झर्ने, तालु खुइलिने वा कपाल पातलो बन्ने जस्ता समस्या निम्तिने गरेका छन् ।
छाला विज्ञ तथा कपाल झर्ने समस्या सम्बन्धी विज्ञ आमना एडेलका अनुसार कपालको जरा अर्थात् फोलिकलहरु लगातार तान्नाले ट्रयाक्सन एलोपेसिया नामक समस्या उत्पन्न गर्दछ । यस्तो समस्या समयक्रम सँगै असाध्य बन्दछ र स्थायी रुपमै कपाल झर्नसक्छ ।
क्यासिनो डट ओआरजीका अनुसार उसले तयार पारेको कन्टेन्ट क्रिएटरको एआई प्रतिरुप एवा केवल एक काल्पनिक तथा अवधारणागत चित्र मात्र होइन । यो हाम्रो यस्तो डिजिटल लतले पार्ने दीर्घकालीन प्रभावहरुको प्रतिबिम्ब पनि हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij