काठमाडौं : भारत–चीन सीमावर्ती गलवान उपत्यकामा सन् २०२० मा भएको वास्तविक झडपको पृष्ठभूमिमा निर्माण भइरहेको बलिउड फिल्म ‘गलवान’मा अभिनेता सलमान खान र नेपाली अभिनेता अनुपविक्रम शाही आमनेसामने देखिने भएका छन्।
फिल्ममा सलमान खानले शहीद कर्नेल सन्तोष बाबुको भूमिका निर्वाह गरेका छन् भने अनुपविक्रम शाहीले चिनियाँ सेनाका कमाण्डर तथा मुख्य खलनायकको भूमिका निभाएका छन्। बलिउडमा शाहीको यो पहिलो प्रवेश हो।निर्माताका अनुसार, फिल्ममा सलमान र अनुपबीच १३ मिनेट लामो द्वन्द्व दृश्य छ, जसलाई फिल्मको मुख्य आकर्षणको रूपमा प्रस्तुत गरिएको छ।
फिल्मको पहिलो चरणको छायांकन लद्दाखको गलवान उपत्यकामा गरिएको हो। छायांकनमा करिब २५० देखि ३०० सैनिक एक्स्ट्राज सहभागी थिए। भारत–चीनबीच भएको ५ वटा छुट्टाछुट्टै भिडन्त दृश्यहरु खिचिएका थिए।
दृश्यलाई थप यथार्थपरक बनाउने उद्देश्यले थाइल्याण्डबाट १५ देखि २० जनाको विशेष एक्सन टोली पनि बोलाइएको थियो। लद्दाखको कठोर मौसम र अक्सिजनको कमीबीच टोलीले प्रभावकारी ढंगले छायांकन सम्पन्न गरेको थियो।
लद्दाखमा मौसमका कारण अधूरो रहेका दृश्यहरू अब मुम्बईस्थित मेहबूब स्टुडियोमा निर्माण गरिएको सेटमा खिचिने छन्। त्यहाँ लद्दाखकै परिवेश मिल्ने गरी विशाल सेट तयार गरिएको छ।
फिल्मको लद्दाख छायांकनका क्रममा सलमान खानले मात्र ५ देखि ६ दिन सेटमा उपस्थिति जनाएका थिए। उनी दैनिक दिउँसो ३ बजेपछि मात्र सेटमा आइपुग्थे र २ देखि २.५ घण्टा मात्रै काम गर्ने गरेका थिए।
उनका केही दृश्यहरू बडी डबलको प्रयोग गरेर छायांकन गरिएको थियो। छायांकनका क्रममा सलमानसँग १० देखि १२ जना निजी सुरक्षाकर्मी, ४ देखि ५ वटा सवारीसाधन तथा लद्दाख प्रहरी र सेनाको टोलीसहित उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको थियो।
फिल्ममा अभिनेत्री चित्रांगदा सिंहले कर्नेल सन्तोष बाबुको पत्नीको भूमिका निर्वाह गरेकी छन्। फिल्मले गलवान झडपसँगै कर्नेल सन्तोषको व्यक्तिगत जीवन र बलिदानको कथा समेत उजागर गर्नेछ।निर्माताका अनुसार, ‘गलवान’ एक यथार्थमा आधारित युद्ध नाट्य फिल्म हो, जसमा राष्ट्रवाद, कर्तव्य र बलिदानको भावनालाई प्रस्तुत गरिएको छ। एजेन्सी
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij