एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले आफ्नो गुमाएका सबै क्षेत्र रूसबाट फिर्ता लिन सक्ने बताएका छन् । यो अभिव्यक्ति उनले यसअघि लिएको अडानभन्दा भिन्न मानिएको छ । विगतमा उनले युद्ध अन्त्यका लागि युक्रेनलाई केही छुट दिनुपर्ने सल्लाह दिएका थिए ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत लेख्दै युरोपेली संघ, नेटो र वित्तीय सहयोगको माध्यमबाट युक्रेन आफ्नो मूल सिमानामा फर्कन सक्ने विश्वास व्यक्त गरे। तर उनले नयाँ अमेरिकी हतियार बिक्री वा प्रत्यक्ष प्रतिबन्धको विषयमा केही उल्लेख गरेनन्। बरु, नेटो सदस्य राष्ट्रहरूले अमेरिकी हतियार खरिद गरेर युक्रेनलाई उपलब्ध गराउनुपर्ने सुझाव दिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्रम्पसँग थप अमेरिकी सहयोगको आग्रह गरेका थिए। दुबै नेताबीच युद्ध अन्त्य गर्ने उपाय र सुरक्षा ग्यारेन्टीबारे छलफल गर्ने सहमति भएको छ।
ट्रम्पले रूस तीन वर्षभन्दा बढी समयदेखि युद्ध लडिरहेको भए पनि उसको वास्तविक कमजोरी उजागर भएको दाबी गरे । ‘रूस अब कागजी बाघझैँ बनेको छ,’ उनले भने । साथै, रूसको अर्थतन्त्र कमजोर भइसकेको र युरोपले रूसी तेल–ग्यासको आयात बन्द गरे युद्ध चाँडै समाप्त हुने टिप्पणी गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij