नयाँ दिल्ली : बेंगलुरुबाट वाराणसी जाँदै गरेको एयर इन्डियाको उडानमा एक यात्रुले ककपिटको ढोका खोल्ने प्रयास गरेपछि विमानभित्र हङ्गामा मच्चियो । यात्रुले सही पासकोड प्रयोग गरेका थिए । तर क्याप्टेनले अपहरणको डरले ढोका खोल्न मानेनन् । ती व्यक्ति अन्य आठ यात्रुहरूसँग यात्रा गरिरहेका थिए । सबै नौ यात्रुहरू सीआईएसएफलाई बुझाइएको छ ।
‘हामीले मिडिया रिपोर्टहरूमा वाराणसी जाने उडानको बारेमा जानकारी प्राप्त गर्यौँ । शौचालय खोज्दै गर्दा एक यात्रु ककपिटको प्रवेशद्वारमा प्रवेश गरे । हामी जनतालाई आश्वस्त पार्न चाहन्छौँ कि उडानमा कडा सुरक्षा उपायहरू अपनाइएको छ र कुनै पनि प्रकारको त्रुटि भएको छैन’ एयर इन्डियाले भनेको छ ।
अवतरण गर्दा अधिकारीहरूलाई घटनाको बारेमा जानकारी दिइएको थियो । अहिले यस घटनाको अनुसन्धान भइरहेको छ । यात्रुले ककपिटमा किन छिर्न खोज्दै थिए भन्ने कुरा अझै थाहा हुन सकेको छैन । एयर इन्डिया एक्सप्रेसको उडान आईएक्स–१०८६ बिहान ८ बजेपछि बेंगलुरुबाट प्रस्थान गरेको थियो ।
एयर इन्डिया एक्सप्रेसको उडान उडेको केही समयपछि, ती यात्रुले ककपिट क्याबिनको ढोका खोल्ने प्रयास गरेका थिए । ककपिटमा घुस्न पासकोड हाल्ने बित्तिकै यसको सिग्नल पाइलटकहाँ पुग्यो । सीसीटीभी फुटेज हेरेपछि हाइज्याक हुने डरले उनले ढोका खोलेनन् । ती यात्रुले ककपिटको पासकोड कसरी थाहा पाए भन्ने प्रश्न यतिबेला उठिरहेको छ ।
ककपिटको ढोका खोल्न खोज्ने यात्रुले पहिलो पटक हवाई यात्रा गरिरहेको बताइएको छ । किन त्यसो गरेको ? भनेर सोध्दा उनले शौचालय प्रयोग गर्न चाहेको र ककपिटको ढोकालाई शौचालयको ढोका भन्ने सोचेको बताए । उनले ककपिटको ढोका खोल्ने प्रयास गरिरहेका छन् भन्ने कुरा चालक दलले उनलाई जानकारी दिएपछि उनी चुपचाप पछि हटेको बताइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij