काठमाडौं : मुस्ताङ-हावामा पहिलेभन्दा हल्का उत्साह छ। दसैंं नजिकिँदै गर्दा व्यापारीहरूको मनमा चुरोट-जत्तिकै तातो चिन्ता थियो-रसुवा र तातोपानी नाका बाढी-पहिरोले बन्द। बजार सुनसान हुने डर, ग्राहक फर्किने त्रास। तर भदौ ३० गतेदेखि हिमालपारीको जिल्ला भनेर चिनिएको मुस्ताङमा रहेको कोरला नाकाले त्यो चिन्तालाई एकाएक सपनामा बदलिदिएको छ।
रसुवा र तातोपानीमार्ग थुनेपछि धेरै व्यापारीले सामान भित्र्याउने बाटोमै शंका गर्न थालेका थिए। तर, जब कोरोला नाकाबाट पहिलो विद्युतीय सवारीसाधन मुस्ताङ भन्सार पार गरी काठमाडौंतर्फ गुड्यो, व्यापारीहरूको अनुहारमा नयाँ उज्यालो देखा पर्यो।
मुस्ताङबासीको लामो समयको प्रतिक्षापछि कोरोला नाका सञ्चालनमा आएको बताउँदै यसलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न आवश्यक रहेको पूर्वसांसद योगेश शेरचन थकालीको भनाइ छ। ‘यो नाकासँग मुस्ताङको भविष्य जोडिएको छ,’ पूर्वसांसद थकालीले भने, ‘लामो समयको प्रयासपछि बैंकल्पिक नाकाको रुपमा खुल्यो। अब यसलाई निरन्तरता दिनुपर्छ।’
नाका सञ्चालनमा आएसँगै त्यस क्षेत्रसँग जोडिएको सडकको विस्तार र व्यवस्थितसमेत आवश्यकता पर्छ। अहिले मुक्तिनाथसम्म पुग्ने सडक पूर्ण रुपमा व्यवस्थित भएको छ। अब त्यसबाट माथिसम्म जाने सडकलाई कालोपत्रे गरेर व्यवस्थित गर्न आवश्यक रहेको व्यवसायीहरुको भनाइ छ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोरोला नाका सञ्चालन हुँदा गण्डकी र लुम्बिनी प्रदेशलाई सबैभन्दा बढी फाइदा हुने बताउँछन्। अहिले पनि केही सामान आउन लागिरहेको बताउँदै हाल कोरोला नाकासम्म नेपालको तर्फबाट ६ चक्के गाडी मात्र पुग्न सक्ने र चीनबाट आउने कन्टेनरबाट सामान ल्याउन तीन/चार चोटी खेप गर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई ध्यानमा राखी बाटो ठूलो बढाउन सरकारले काम गर्नुपर्ने उनको भनाइ छ।
'यो गण्डकी प्रदेशका लागि सबैभन्दा बढी आम्दानी गर्न सक्ने नाका हो,' अध्यक्ष श्रेष्ठले भने, 'यसमा प्रदेश सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ।' यो नाकालाई नियमित रुपमा सञ्चालन गरी लुम्बिनी प्रदेशमा रहेको सुनौली नाकासँग जोडेर चीन र भारतबीचको व्यापारलाई समेत सहजिकरण गर्न सके धेरै फाइदा लिन सक्ने उनले बताए।
अहिले कोरोला नाकाबाट सामान ल्याउँदा गण्डकी र लुम्बिनी प्रदेशलाई सस्तो पर्ने र यहाँको उत्पादन पनि चीनमा पठाउन सकिने उनको भनाइ छ। ‘यो नाका सञ्चालन होस् भन्ने सपना हामीले धेरै पहिलादेखि बुनेका थियौँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘नेपालतर्फको अस्थायी संरचनालाई पक्की बनाउन हामी पनि पहल र सहयोग गर्न तयार छौँ।’
मुस्ताङका स्थानीयहरुले कोरला नाकालाई चीनबाट सामान आयात र निर्यात गर्ने नाकाको रुपमा विस्तार गरिरहेकोमा हाल सरकारले नै औपचारिक रुपमा सञ्चालन गर्दा धेरै आशावादी रहेको मुस्ताङका व्यवसायी सोनाम लामाको भनाइ छ।
‘अहिले चीन जोड्ने दुवै नाका बन्द रहेको अवस्थामा विकल्पको रुपमा कोरलालाई प्रयोग गरिएको छ,’ व्यवसायी लामाले भने, ‘अब यसलाई निरन्तरता दिनुपर्छ।’ चीन सरकार पनि कोरला नाका सञ्चालन गर्न तयार छ।
चीनले आवश्यक भौतिक संरचना सबै तयार पारेर केही वर्षअघि उद्घाटन गरे पनि नेपालतर्फको तयारी नहुँदा सञ्चालनमा आउन सकेको थिएन। तर, यो वर्ष बैंकसहितको सबै सुविधा कोरला नाकामा पुगिसकेको छ। कोरला नाकाबाट लत्ता कपडा, इलेक्ट्रोनिक्स सामान, कस्मेटिक सामानसहित ठूलो मात्रामा विद्युतीय सवारी साधन आयात भइरहेको मुस्ताङ भन्सार कार्यालय प्रमुख रमेश खड्काको भनाइ छ।
हालसम्म १६९ युनिट विद्युतीय सवारी साधन जाँचपास भइसकेको उनको भनाइ छ। यसअघि रसुवागढी र तातोपानी नाका हुँदै ल्याउने तयारी भए पनि बाढी-पहिरोका कारण नाका अवरुद्ध भएपछि कोरलालाई वैकल्पिक मार्ग बनाइएको हो। राजधानीबाट दुरी टाढा भए पनि चाडपर्वको समयमा अत्यावश्यक सामग्री अभाव हुन नदिन सरकारले यो नाका सञ्चालनमा ल्याएको छ।
भन्सार प्रक्रियालाई सहज बनाउन न्हेचुङ भन्सार कार्यालयमा अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडान गरिएको छ। यससँगै चीनबाट आयात भएका गाडी र अन्य सामग्री भन्सार प्रक्रियामा प्रवेश गरेका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले नेपालबाट पनि हस्तकलाका सामानहरू निर्यात हुन थालेको बताए।
यो नाका सञ्चालनमा आएसँगै पोखरा, भैरहवा र पश्चिमी क्षेत्रका लागि सामान आपूर्ति गर्न यो वैकल्पिक बाटो बनेको छ। यसले भविष्यमा पनि पश्चिमी नेपालतर्फ जाने सामानका लागि सहज र स्थायी प्रणालीको विकास हुने अपेक्षा गरिएको छ।
समुद्र सतहदेखि चार हजार ६५० मिटर उचाईमा अवस्थित कोरोला नाका २०८० सालमा औपचारिक रुपमा उद्घाटन गरिएको थियो। नेपाल र चीनलाई सडक सम्पर्कले जोड्ने केरुङ र तातोपानी नाकापछि कोरोला तेस्रो नाका हो।
पोखरादेखि बेनी हुँदै कोरोलासम्म म्याग्दी खण्डको थोरै भूगोलबाहेक दुई लेनको सडक कोरोला नाकासम्म जोडिएको छ। बेनी जोमसोमसम्मको सडक कालोपत्रे हुने छ। जोमसोम‑कोरोलासम्मको सडक ग्राभेल हुनेछ। गण्डकी प्रदेशको नवलपरासीको गैंडाकोटबाट मुस्ताङको कोरोलासम्मको ४३५ किलोमिटर लामो सडकलाई कालीगण्डकी करिडोर नामाकरण गरिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij