Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

नारायणगढ–मुग्लिन सडकमा पहिरो : ६–७ सय गाडी रोकिँदा हजारौँ यात्रुको बिचल्ली

नारायणगढ–मुग्लिन सडकमा पहिरो : ६–७ सय गाडी रोकिँदा हजारौँ यात्रुको बिचल्ली

दसैँको मुखमा सवारीसाधनको चाप बढ्दै गएका वेला शुक्रबार साँझ साढे ६ बजेदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड शनिबार दिनभरको प्रयासमा पनि खुल्न सकेन । पहिरोले अवरुद्ध झन्डै डेढ सय मिटर सडक खुलाउने प्रयास शनिबार रातिसम्म सफल नभएपछि हजारौँ यात्रु बिचल्लीमा परेका छन् ।

मुग्लिङ बजारदेखि करिब दुई किलोमिटर दक्षिणपट्टि रहेको चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित तुइन खोला पुलछेउमा पहिरो गएपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । शुक्रबार साँझदेखि नै सडक खुलाउन पहल थाले पनि निरन्तर ठुल्ठुला ढुंगासहित पहिरो खसेपछि काम अघि बढ्न सकेन । शनिबार वर्षा नभए पनि सुक्खा पहिरो थियो ।

सडक खुलाउन नारायणगढपट्टि दुई र मुग्लिनपट्टि तीन गरेर पाँचवटा मेसिन परिचालन भएका थिए । शनिबार साँझ साढे ६ बजेतिर सडक खुलाउन अधिकांश काम सकिए पनि पुन: ठुला ढुंगासहितको पहिरो खस्दा समस्या भएको चिवतनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनका अनुसार मानवीय हताहत भने छैन ।

‘एक–डेढ घण्टामा सडक खुल्ने आशा थियो । तर, भूकम्प आएजसरी ठुल्ठुला ढुंगासहित पुन: पहिरो आयो । त्यसले मेसिनलाई पनि क्षति पुर्‍यायो । यद्यपि, मानवीय क्षति भएन । त्यसपछि सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राख्दै शनिबार रातिलाई बाटो खोल्ने काम स्थगित गरिएको छ,’ उनले भने, ‘आइतबार बिहान साढे ४ बजेदेखि पुन: काम सुरु गर्छाैँ । तर, वेलावेला पहिरो खसेकाले कति समय लाग्छ भनेर यकिन गर्न गाह्रो छ ।’

पटक–पटक सुक्खा पहिरो खसेपछि सडक खुलाउन नसकेको सडक डिभिजन भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले बताए । उनका अनुसार त्यस क्षेत्रको भौगोलिक बनावट यसै पनि कमजोर छ । त्यसमाथि त्यहाँ टुक्रे चट्यान छ । त्यसले गर्दा पहिरो रोकिन समय लागेको उनको भनाइ छ । ‘पहिरोले डेढ सय मिटरभन्दा बढी सडक अवरुद्ध गरेको छ । कहिलेसम्म खुलाउन सकिन्छ भन्नै सकिन्न । निर्वाध रूपमा काम भए ८–१० घण्टा लाग्न सक्छ,’ उनले भने ।

सडक अवरुद्ध हुँदा दुईतिर गरेर हजारौँ गाडी अलपत्र परेको तथा दसैँका वेला यात्रा सहज बनाउन कठिन परिस्थिति आएको चितवनका प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । ‘अहिले दुवैतर्फ ६–७ सय गाडी अलपत्र छन् । त्यसमा हजारौँ यात्रु अलपत्र छन्,’ उनले भने, ‘सडक कहिले खुल्छ भनेर भन्न सक्ने अवस्था छैन । दसैँका वेला कठिन परिस्थिति आयो ।’

हजारौँ यात्रुको बिजोग पहिरोले बाटो अवरुद्ध भएपछि हजारौँ यात्रुको बिचल्ली भएको छ । पहाडको खोच र अनकन्टार भिरबाट निरन्तर खसिरहेको डरलाग्दो सुक्खा पहिरोले यात्रु त्रसित छन् । कहिलेसम्म बाटो खुल्छ भनेर पनि यकिन भएको छैन ।

शुक्रबार करिब ८ बजे स्कुटर लिएर चितवनबाट दमौली हिँडेका एक युवाले पहिरोले स्कुटर पुरिए पनि भाग्यवश लड्दै–पड्दै ज्यान जोगाउन सफल भएको बताए । ‘अरूको कुरा सुन्दा कसो ज्यान गएन,’ उनले भने ।

पहिरो पन्छाउन नसकेपछि अलपत्र परेका यात्रु चिसो पिचमा समय गुजारिरहेका छन् । मुग्लिनका जेनिश श्रेष्ठ वीरगन्जबाट आउँदै थिए । ‘एकैछिनमा घर पुग्ने थिएँ । तर, पहिरोका कारण दुई दिनदेखि जाममा परेँ,’ उनले भने ।

शुक्रबारदेखि जाममा परेर पोखराको बाटो हुँदै दाङबाट आएका सागर तामाङ मुग्लिनमा भेटिए । दुई दिनदेखि पहिरोले अवरुद्ध सडक खुलाउन नसकेकोमा उनले आक्रोश व्यक्त गरे । ‘कति दिनसम्म जाममा बस्ने, यस्तो कुरामा कसले चासो दिन्छ ?’ उनले प्रश्न गरे ।

सडक अवरोध हुँदा शान्ति सुरक्षादेखि यात्रुको बसाइसम्मको ध्यान दिनुपरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए । ‘हजारौँ यात्रु सडक र आसपास होटेलमा बसेका छन्,’ उनले भने, ‘सुरक्षा र वासस्थानको जोहो गर्न सबैलाई आग्रह गरेका छौँ ।’

पहिरो नथपिए आइतबार दिउँसोसम्म अवरुद्ध सडक सुचारु हुने नागढुंगा मुग्लिन सडक योजना (पश्चिम खण्ड)का योजना प्रमुख केदार नेपालले बताए । ‘अवरुद्ध सडक खुलाउने निरन्तर प्रयासमा छौँ । पहिरो खसिरहेका कारण एक्स्काभेटरले पनि निरन्तर रूपमा काम गर्न सकेको छैन,’ उनले भने, ‘आइतबार बिहानैबाट पहिरो पन्छाउने काम सुरु गर्छाैँ । थप पहिरो खसेर समस्या भएन भने आइतबार दिउँसोबाट अवरुद्ध सडक सुचारु हुन्छ ।’

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएपछि यात्रुले वैकल्पिक बाटोको खोजी गर्न थालेका छन् । नागढुंगा मुग्लिन सडक योजना (पश्चिम खण्ड)का योजना प्रमुख नेपालले लामो दूरीको यात्रा गर्दै गरेका यात्रुलाई वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गरेका छन् ।

प्रदेश राजधानी हेटौँडा र चितवन भएर संघीय राजधानी काठमाडौं आवतजावत गर्ने यात्रुले नौबिसेबाट दामन हुँदै त्रिभुवन राजपथ प्रयोग गर्न सक्नेछन् । अर्काे दक्षिणकाली र कुलेखानीको बाटो प्रयोग गर्न सकिने पनि योजना प्रमुख नेपालले बताए ।

त्यस्तै, नारायणघाटबाट पश्चिम जाने सवारीहरूले तनहुँको भिमाद हुँदै कालीगण्डकी करिडोर भएर गैँडाकोटको बाटो प्रयोग गर्न सकिने उनले बताए । तनहुँ एक–दुई घण्टामै पुग्न सकिने हुँदा यो बाटो पनि उत्तम रहेको उनको भनाइ छ ।

पश्चिमबाट आउने अधिकांश सवारीसाधनले बुटवल, पाल्पा, पोखरा हुँदै काठमाडौं आवतजावत गरिरहेको प्रहरीले जानकारी दिएको छ । यस्तै, काठमाडौंबाट तराई जाने गाडीहरूले कान्तिपथ, दामन, कुलेखानीसहित बिपी राजमार्ग प्रयोग गर्न सक्नेछन् ।

नारायणगढ–मुग्लिन सडकको विकल्पमा रहेका सडक साना गाडी तथा मिनीबसका लागि मात्रै सहज छन् । ठुला बस तथा गाडीका लागि उपयुक्त छैनन् । लेन मिचेर विपरीत दिशाबाट सवारीसाधन पसेकाले वैकल्पिक सडकमा डाइभर्ट गर्न पनि चुनौती भएको सडक डिभिजन चितवनका प्रमुख लामिछानेले बताए ।

यसैबिच, शनिबार साँझ जिल्ला प्रशासन चितवनले झन्डै २५ सय यात्रुलाई पानी, चिउरा र भुजालगायत खाद्यान्न वितरण गरेको छ । जाममा परेका यात्रुलाई विभिन्न संघसंस्था तथा होटेल व्यवसायीले खाजास्वरूप बिस्कुट, फ्रुटी, चाउचाउ र पानीलगायत खाद्यान्न सामग्री दिएर सहयोग गरेका छन् । बसोबासका लागि सम्बन्धित सवारीसाधन नै प्रयोग गर्न लगाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

यसैबिच, पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने खण्डमा हिलो र चिप्लोले सवारीसाधन चल्न नसकेपछि सडक मर्मत सुरु गरिएको छ । सडक मर्मत सुरु भएको र दसैँअगाडि यात्रा सहज बनाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए ।

ठुला सवारीसाधन सञ्चालनमा रोक बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर ठुला भारवाहन सवारीसाधन (१२ चक्के र सोभन्दा माथि) नचल्ने भएका छन् । दसैँ अवधिभर यात्रुवाहक सवारीको चाप बढ्ने भएकाले ठुला भारवाहन सवारीसाधनमा रोक लगाउने निर्णय भएको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । ऊर्जा र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिकमन्त्री कुलमान घिसिङको सचिवालयका अनुसार खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधन भने चल्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij