१) विस्मृति र विमुक्ति अक्सर मेरा साथीहरूसँग पटकपटक दोहोर्याएर सोध्ने गर्थे मलाई बिर्सन्छौ कि ! सबैभन्दा त चिन्ता हुन्थ्यो मलाई मन परेकाले बिर्सन्छ कि !
आखिर किन म अरूकोमा बाँच्न चाहेको होला अरू त अरू हुन् उनीहरूको आफ्नै स्वार्थ, सरोकार र रुचि हुन्छन् मन लागे सम्झी पनि हाल्छन् नभए बिर्सन्छन्, म को हुँ र उनीहरूलाई सम्झिने बनाइरहने सम्झिएछ भने पनि उनीहरू पनि म जस्तै अनित्य छन् चाहेर पनि सम्झिरहन सक्दैनन् बिर्सन्छन्, कारणविना ।
म आफैँलाई देखेर अवाक् हुन्छु मेरो कस्तो छुद्रता मलाई सम्झिए है भन्ने मान्छेहरू आफैँलाई सम्झिन नसकेर पागल छन् डाक्टरकोमा पटकपटक उपचार माग्छन् ।
होस खुलाउन, सम्झिने शक्ति बढाउन आफैँलाई सम्झिन नसक्नेले मलाई सम्झिए है भन्ने मेरो छुद्रताको के सीमा भयो र ! मलाई अचेल सम्झिने भनेको बोझ लाग्न थालेको छ मेरो मुक्तिको ।
एक नम्बर शत्रु लाग्न थालेको छ मेरो यात्राको सबैभन्दा ठुलो अडचन लाग्न थालेको छ मलाई मेरा यादहरू नै बोझ लाग्न थालेको छ ।
मसँग उडान भर्ने मनका प्वाँख होलान् तर त्यसलाई उड्न दिए पो ! मलाई फर्काइफर्काई पुरानैमा पुर्याउँछ नयाँ पाइला राख्न, नयाँ सोच्न, नयाँसँग प्रीति गाँस्न दिए पो !
म यथास्थितिवादी बनेको छु, अझ भन्ने हो भने प्रतिगामी बनेको छु, बन्दैछु अर्कोतिर यो कस्तो कैद हो, मैले मलाई फाल्दा पनि अरूको यादमा, नजरमा नफालिने चाहे त्यो घृणावश वा प्रेमवश, जसरी होस् ।
मलाई मानिसहरूको स्मृतिपटलबाट मुक्ति चाहिएको छ, म आफ्नो मृत्युको अमरत्वलाई तिम्रो यादको बन्धक हुनदिन चाहन्न ।
मलाई आफ्नो अनित्यको राम्रो बोध छ मेरो अनित्यको समन गर्न तिमीले हत्ते गरेर नअल्झाऊ ।
म सम्पूर्ण बिसर्जन चाहन्छु र अथाह, असीमित, अविचारित, अगणित, अनतिक्रम्य महायात्रातर्फ प्रस्थान हुन चाहन्छु ।
मैले भनेर पुग्ने भए मेरा सबै सन्दर्भहरू डिलिट होऊन् मेरा सम्पूर्ण परिचय खरानी होऊन् अझ भन्ने हो भने त्यो खरानी पनि खरानी होस् एउटा नसम्झेको, नजोडिएको, अघटित अघटनाजस्तो होस्, मैले कमाएको वा गुमाएको सबै असत्य होस् एउटा नजन्मेको अजन्मातर्फ निर्विघ्न हिँड्न हुने लामो यात्रामा रोक्नेतर्फ मैले आफैँलाई वा अरूले मलाई जोड्ने घटाउने वा बचाउने केही नरहोस् ।
फगत एउटा विस्मृति मात्रै रहोस् मेरो मुक्तिका लागि, मेरो आफ्नो वा परायाको सम्झना पलायन होस् मेरो विसर्जन नै मेरो सृष्टि हो, सत्य हो मलाई जोगाऊ अस्थायी, अनित्य र असत्य यादहरूबाट । ००
२) स्वचालित छैन जीवन
स्वचालित छैन जीवन चलाउनुपर्छ थाकेका काँधले आफैँलाई बोक्नुपर्छ रहर गर्दागर्दै जीवन बोझ बन्दै छ आफ्नै श्वासको भारी बिसाई उत्रिन खोज्दै छ ।
अलिकता पानी, अलिकता घाम भए पुग्थ्यो जिन्दगीलाई, पालुवा चढाउन अलिकता माया अलिकता स्याहार भए पुग्थ्यो जिन्दगीलाई आफैँसँग रमाउन ।
आज पानी सुकेको आँखा लिएर उराठलाग्दो जीवन हेरिरहेछु जीवनको डढेलो निभाउन नसकेर बिस्कुन भइरहेछु ।
ऋतुसँग भोगेका क्षणहरू कतै मरिसकेछन् यातना बनेर यादहरू दिनदिनै डसिरहेछन् संसार उचाल्ने अठोट थियो मनमा आज त्यसैले गिज्याइरहेछन् ।
जिन्दगीका नाजुक प्रश्नहरूले मेरो हुर्मत लिइरहेछ उभिँदाउभिँदै उभ्याउनुपर्ने गरी जीवन गलिरहेछ ।
बिर्सन लायक कथाजस्तै जीवन लेखिरहेछु न कुनै दर्शक, न कुनै पात्र, मञ्चन नहुने नाटक भइरहेछु । ००
३) यादहरूमा बहुलाएको बेला
यादहरूमा बहुलाएको बेला मायाले सताउँछ मलाई बितेका प्यारा क्षणहरू भुलिने भयले अत्याउँछ मलाई म के गरूँ ?
पहिला पहिला भेट थियो देख्दै उर्लेका रहरहरू थिए तिम्रो स्पर्शले रोमाञ्चित मुर्च्छनाबाट उठ्दै नउठ्ने हठको माया लाग्छ म के गरूँ ?
दिलले देखेको दृश्य कहिल्यै धुमिल हुँदैन म तिम्रो अग्निहोत्री तिमीलाई पाउने यज्ञमा होमिएको छु तिम्रो आँखामा चम्किने ज्योति हेर्ने रहरको माया लाग्छ मलाई, म के गरूँ ?
बितेका क्षणहरू गुमेका अवसरहरू हुन् विमल यादहरूले भर्पाइ गर्दैनन् तिम्रो साथमा कोपिला हुर्काउने रहरको माया लाग्छ मलाई म के गरुँ ? ०००
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij