काठमाडौँ : जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका सरकारी संरचनाको सरसफाइका साथै प्राविधिक परीक्षण सुरु गरिएकाे छ । शनिबारदेखि आगजनीबाट क्षतिग्रस्त भएका सरकारी संरचनाहरूकाे प्राविधिक परीक्षण सुरु गरिएकाे हो ।
यसै क्रममा शनिबार आन्दोलनका क्रममा आगजनीका कारण ध्वस्त भएको रामशाहपथस्थीत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सरसफाइ एवं संरचनाको प्राविधिक परीक्षण गरिएको छ । परीक्षणका क्रममा स्वास्थ्य मन्त्रालयको भवन मर्मत गरेर प्रयोग गर्न नसकिने अवस्थामा रहेको नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए ।
उनले मन्त्रालयको भित्तामा क्षति नभए पनि स्ल्यावहरुमा पूर्णरुपमा क्षति पुगेकाले पुनः प्रयोग गर्न निकै जोखिम रहेको बताए । आगलागीबाट क्षति पुगेको भवनको भवन निर्माण विभागको समन्वयमा एसोसिएसनले ध्वस्त भएका संरचनाको प्रारम्भिक परीक्षण गरिरहेको उनले उल्लेख गरे ।
बरालले प्रारम्भिक परीक्षणका क्रममा ध्वस्त भएका भवनलाई कसरी पुनर्निर्माण गर्ने भन्ने सुझाव दिइने बताए । आगलागीबाट क्षति पुगेको भवनमध्ये सिंहदरबारभित्रका केही भवन पुनः प्रयोग गर्न सकिने र केही भवन भने जोखिमपूर्ण रहेको उनले बताए ।
त्यस्तै सर्वोच्चको उत्तरतर्फको भवन पनि पूर्णरुपमा क्षति भएकाले प्रयोग गर्न नमिल्ने र दक्षिणतर्फको भवन भने कम जोखिम देखिएको बरालले उल्लेख गरे । एसोसिएसनले प्राविधिक परीक्षण पश्चात् मात्र संरचना प्रयोग गर्न सुझाव दिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij