काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा ठूलो पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्डमा दुई तर्फी आवागमन अवरुद्ध भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिकाको तुइन खोला भन्ने स्थानमा माथिबाट ठूलो पहिरो खसेको हो ।
दिउँसो देखिनै लगातार हल्का वर्षा भएको त्यस क्षेत्रमा साँझ भीर नै सडकमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।ठूलो पहिरो खसेकाले तत्काल पन्छाउन नसकिने देखिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले अनलाइनखबरसँग बताए ।
उनका अनुसार शुक्रबार साँझ सवा ७ बजेतिर तुइनखोलामा पहिरो खसेपछि राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा सडक अवरुद्ध हुँदा यात्रुको सडकमा बिचल्ली भएको देखिन्छ ।‘राति पहिरो हटाएर सडक सुचारु गर्न सक्ने सम्भावना छैन, बिहान मात्रै सम्भव होला, आजलाई राजमार्ग दुईतर्फी नै अवरुद्ध छ,’ उनले भने ।

रातिमा काम थाल्दा माथिबाट खसेको ढुङ्गा सहितको पहिरो नदेखिने हुनाले बिहानपख मात्रै पहिरो पन्छाउने काम थाल्ने प्रहरी निरीक्षक सिंहले बताए । पहिरो पन्छाउन आएका जेसीबीसहितका मेसिन रात छिप्पिन थालेसँगै फर्किएका छन् ।
उनका अनुसार शनिबार बिहान ४ बजेपछि मात्रै पहिरो पन्छाउने कार्य थालिनेछ ।अहिले राजमार्गमा प्रहरीले माइकिङ गरेर यथास्थानमा सुरक्षित बस्न सवारी चालक र यात्रुहरूलाई आग्रह गरिरहेको उनले बताए ।काठमाडौं र पोखराबाट चितवनतर्फ जाने सवारी साधन रोकिँदा तुइनखोलाभन्दा केही वरदेखि मुग्लिन बजारसम्मै सवारी साधनको जाम लागेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले नारायणगढतिरबाट मुग्लिनतिर आउन लागेका र काठमाडौं तथा पोखरातिरबाट नारायणगढतर्फ जान लागेका सवारी साधनलाई सुरक्षित स्थानमा रोकिन आग्रह गरेको छ ।

