काठमाडौँ : जिल्ला प्रहरी परिसर, काठमाडौँको नेतृत्वमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा आएका छन्। यसअघि काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी विश्व अधिकारीलाई भने प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, थापालाई राजधानीको सुरक्षा व्यवस्थाको जिम्मेवारी दिइएको हो। उनी यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए। एसएसपी थापालाई प्रहरी संगठनभित्र एक व्यावसायिक र कुशल अधिकृतका रूपमा लिइन्छ। उनले यसअघि एसपी हुँदा कास्की र उदयपुर जस्ता जिल्लाहरूको सफल नेतृत्व गरिसकेका छन्।
काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीमा आएको ७ महिनापछि एसएसपी अधिकारीको सरुवा भएको हो। उनी २०८१ माघ १५ गते काठमाडौँ आएका थिए। उनको सरुवालाई हालैको जेएनजी प्रदर्शनका क्रममा प्रहरीले गरेको बल प्रयोगसँग जोडेर हेरिएको छ। भदौ २३ गते नयाँ बानेश्वरमा भएको प्रदर्शन नियन्त्रणमा प्रहरीले अधिक बल प्रयोग गरेको भन्दै आलोचना भएको थियो।
गृह मन्त्रालयका एक उच्च अधिकारीले बताएअनुसार, भिड नियन्त्रणमा चुकेको आरोपपछि एसएसपी अधिकारीलाई जिम्मेवारीमुक्त गरी थापालाई ल्याइएको हो। भदौ २४ गते देशभर उच्छृंखल समूहले आगजनी र तोडफोड गर्दा प्रहरीको तयारी र नियन्त्रण क्षमतामाथि प्रश्न उठेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij