Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

राज्यको ऐतिहासिक धरोहरहरूमा आगो लगाउनेलाई कारवाहीको दायरामा ल्याउँछौँ : आईजीपी खापुङ

राज्यको ऐतिहासिक धरोहरहरूमा आगो लगाउनेलाई कारवाहीको दायरामा ल्याउँछौँ : आईजीपी खापुङ

काठमाडौँ : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले हालको चुनौतीपूर्ण परिस्थितिमा समेत आम नागरिकलाई शान्ति, सुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी पूर्ण रूपमा व्यावसायिक र प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार नेपालको संविधान, प्रचलित ऐन–कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्डअनुसार दायित्व निर्वाह गर्दै नेपाल प्रहरी अपराध अनुसन्धानलाई परिणाममुखी, वैज्ञानिक र निष्पक्ष बनाउन निरन्तर लागिरहेको छ ।

आईजीपी खापुङले राजधानीसहितका ठूला शहर र महानगरहरूमा अर्बान पुलिसिङका लागि दक्ष जनशक्ति, आधुनिक प्रविधि, उपकरण र आवश्यक कानुनी अधिकार अनिवार्य रहेको उल्लेख गरे ।उनले नेपाल प्रहरीको आधुनिकीकरणमा ढिलाइ भए आम नागरिकको राज्यका संरचनाप्रतिको भरोसा प्रभावित हुने र आन्तरिक सुरक्षाको मेरुदण्ड कमजोर हुने बताए ।

उनले प्रहरी सेवाको प्रभावकारिताका लागि पर्याप्त भौतिक स्रोत–साधन, नवीनतम प्रविधि र प्रहरी कर्मचारीको हौसला–मनोबललाई उच्च प्राथमिकतामा राख्न आवश्यक रहेको भन्दै सम्बन्धित मन्त्रालयले यसलाई संवेदनशील घडीमा सम्बोधन गर्ने अपेक्षा राखे ।

युवा पुस्ताको नाममा देखिएको अशान्ति र हिंसात्मक गतिविधिबाट ऐतिहासिक धरोहर, महत्वपूर्ण प्रतिष्ठान तथा निजी–सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिको अनुसन्धान गरी संलग्नलाई कानुनअनुसार कारबाही गर्ने दृढता व्यक्त गर्दै आईजीपी खापुङले कानूनी शासनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी सफल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij