भोजपुर : भोजपुरको सुन्तले–बाघखोर क्षेत्र आन्तरिक पर्यटकका लागि नयाँ आकर्षक गन्तव्यको रूपमा विकसित भइरहेको छ। सदरमुकाम नजिकै भएकाले सहज पहुँचसहित यहाँ दैनिक रूपमा पर्यटकको आवागमन बढिरहेको छ। हिमशृङ्खला, डाँडा, उपत्यका र नदीको मनोरम दृश्य यहाँको प्रमुख आकर्षण बनेको छ।

पर्यटकले यहाँ स्वच्छ हावापानीमा रमाउँदै स्थानीय परिकार चाख्ने अवसर पाउँछन्। सांस्कृतिक विविधता, भेषभूषा र रहनसहनले पनि उनीहरूलाई लोभ्याउने गरेको छ। होटल व्यवसायीहरूका अनुसार दैनिक दर्जनौँ पर्यटक आउने गरेका छन्।

तर, पूर्वाधार अभावका कारण धेरै पर्यटकको व्यवस्थापन गर्न समस्या देखिएको छ। सडक सुविधा सहज भए पनि ठूला संख्यामा आउन थालेपछि थप तयारी आवश्यक भएको व्यवसायीहरूको भनाइ छ।

यस क्षेत्रमा भ्यू टावर र वनभोज स्थलसमेत निर्माण गरिएको छ। राई, शेर्पा र तामाङ समुदायको बसोबास भएको यो स्थान जातीय संस्कृतिको अध्ययन र अनुभवका लागि पनि महत्वपूर्ण मानिन्छ।
सदरमुकामबाट करिब १०–१२ किलोमिटर दूरीमा पर्ने यो रमणीय क्षेत्र आन्तरिक पर्यटकका लागि मात्र नभई बाह्य पर्यटकलाई पनि आकर्षण गर्ने क्षमता बोकेको देखिन्छ। प्राकृतिक र सांस्कृतिक सौन्दर्यले भरिएको यस स्थानले भोजपुरको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij